मंसिर २८ गतेका लागि तोकियो नेपाल पत्रकार महासंघ निर्बाचनको नयाँ मिति (यस्तो छ कार्यतालिका)
काठमाडौं।नेपाल पत्रकार महासंघको निर्वाचनको नयाँ मिति आएको छ । नयाँ मितिअनुसार मंसिर २८ गते शुक्रबार निर्वाचन हुने भएको छ ।

आज निर्वाचन कार्यतालिका सार्वजनिक गर्दै महासंघले सो जानकारी दिएको हो । सार्वजनिक कार्यतालिका अनुसार यसै साता अर्थात् मङ्सिर २१ गते शुक्रबार उम्मेदवारको मनोनयन दर्ता हुने भएको छ ।
त्यसैगरी मङ्सिर २२ गते उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरिनेछ भने मतदान मंसिर २८ गते बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म चल्नेछ । प्रदेश समितिको मनोनयन मंसिर २४ गते जिल्ला शाखा र प्रतिष्ठान शाखाको मङ्सिर २६ गते मनोनयन दर्ता गर्ने गरी व्यवस्था मिलाउन सम्बन्धित निर्वाचन समितिलाई अनुरोधसमेत गरिएको छ।
यसैबीच,नेपाल पत्रकार महासंघको सदस्यता वितरणमा पत्रकार महासंघले पक्षपात गरेको भन्दै बागमती प्रदेश पत्रकार महासंघको कार्यालय र मकवानपुर शाखाको कार्यालयमा प्रेस चौतारीले ताला लगाएको छ । बुधबार बिहान महासंघका दुईवटा कार्यालयमा तालाबन्दी गरिएको हो ।
प्रेस चौतारी मकवानपुर शाखाको अगुवाइमा महासंघको कार्यालयमा तालाबन्दी गरिएको हो । प्रेस चौतारीले नेपाल पत्रकार महासंघ बागमती प्रदेश समिति र नेपाल पत्रकार महासंघ मकवानपुर शाखामा तालाबन्दी गरेको प्रेसचौतारी मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारीले बताए ।
पक्षपाती ढंगले क्रियाशिल पत्रकारको सदस्य वितरणमा महासंघ मकवानपुर शाखा, बागमती प्रदेश समिति र केन्द्रीय समितिले समेत वेवास्ता गरेको र पत्रकारिता क्षेत्रमा कामै नगरेकाहरुलाई महासंघको सदस्यता बनाएको भन्दै अनिश्चितकालिन तालाबन्दी गरिएको उनले बताए ।प्रेस चौतारीले यस्ता मागहरू राख्दै तालाबन्दी गर्दै आएको छ।

