उपनिर्बाचन : हालसम्म २६ वडाध्यक्षको अन्तिम परिणाम घोषणा, कहाँ कस्ले मार्यो बाजी ?
काठमाडौँ । स्थानीय तह उपनिर्वाचनको अन्तिम मत परिणाम अनुसार हालसम्म कांग्रेस उम्मेदवारहरुले बढी स्थानमा बिजय प्राप्त गरेका छन्। हालसम्म कांग्रेसले १३ ठाउँमा वडाध्यक्ष पदमा विजय हासिल गरेको छ भने एमालेले ५, माओवादी केन्द्रले ४,जसपा नेपालले २ र स्वतन्त्र दुई जना वडाध्यक्ष चुनिएका छन्।

बहुप्रतिक्षित कीर्तिपुर नगरपालिकामा मेयर र काठमाडौं १६ को वडाध्यक्षको मत परिणाम आईसकेको छैन।अन्य स्थानमा पनि मतगणना जारी छ। निर्वाचन आयोगका अनुसार हेटौँडा उपमहानगरपालिका–१२ मा अर्जुन प्रसाद तिवारी, भीमदत्त नगरपालिका–६ मा प्रकाश चन्द, ठाकुरबाबा नगरपालिका–४ मा अमिन थारु निर्वाचित भएका छन् ।
यसैगरी गढी गाउँपालिका–६ मा तेतर साहु, राजपुर नगरपालिका–६ मा समसे आलम, रुन्टीगढी गाउँपालिका–४ मा भुपमणि पुन मगर, ईशनाथ नगरपालिका–७ मा शेख अब्दुल खलिक निर्वाचित भएका छन् ।
यसैगरी सानीभेरी गाउँपालिका ५ मा मोतीराम खत्री, कीर्तिपुर नगरपालिका १ मा इच्छा कुमार महर्जन, पूर्वीचौधी गाउँपालिका ६ मा मोहन थापा, लालीगुराँस नगरपालिका ८ मा नगेन्द्र लिम्बु, दुहुँ गाउँपालिका ५ मा धनसिंह कुँवर र कुशे गाउँपालिका ७ मा खम्ब बहादुर सिंह निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ ।
उता, नेकपा एमालेले स्थानीय तह उपनिर्वाचनमा हालसम्म ५ स्थानमा विजय हासिल गरेको छ । निर्वाचन आयोगका अनुसार एमालेले शुद्धोधन गाउँपालिका–१ मा विजय हासिल गरेको छ । त्यहाँ मोहमद ताहिर मुसलमान विजयी भएका हुन् ।
यसैगरी रामगोपालपुर नगरपालिका २ मा सकिवुल खाँ, दुल्लु नगरपालिकामा १३ मा लालबहादुर शाही, मोलुङ गाउँपालिका ५ मा गंगाबहादुर तामाङ र सिरीजंगा गाउँपालिका ३ मा कुमारी सावादेन विजयी भएको आयोगले जनाएको छ ।
नेकपा माओवादी केन्द्रले चार वटा वडामा विजय हासिल गरेको छ । निर्वाचन आयोगका अनुसार माओवादीले त्रियुगा नगरपालिका १५, धनुषाधाम नगरपालिका १, गोरखा नगरपालिका ५ र ककनी गाउँपालिका २ मा विजय हासिल गरेको हो ।
ती स्थानीय तहका वडामा क्रमशः नवीन कुमार वान्तवा राई, सुनिल कापर केवट, विष्णु बहादुर मगर र कृष्ण घिमिरे निर्वाचित भएको आयोगले जनाएको छ ।
स्थानीय तह उपनिर्वाचन अन्तरगत जारी मतगणनामा जसपा नेपालका दुई जना उम्मेदवारले विजय हासिल गरेका छन् ।
जसपा नेपालका उम्मेदवारले डाक्नेश्वरी नगरपालिका १ र डाक्नेश्वरी नगरपालिका ४ मा जित हासिल गरेका हुन् । त्यहाँ क्रमशः धिरेन्द्र कुमार साह र देवेन्द्र प्रसाद यादवले विजय हासिल गरेको निर्वाचन आयोगले जनाएको छ ।
उप निर्बाचनमा नेपाल मजदुर किसान पार्टीका एक र स्वतन्त्र एक उम्मेदवारले पनि जित हासिल गरेका छन् ।कालीकोटको तिलागुफा गाउँपालिका-४ को वडाध्यक्ष पदमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का खड्ङ्कराज शाही र झापाको कन्काई नगरपालिका-६ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार लक्ष्मीप्रसाद ओली निर्वाचित भएका हुन्।

