सशक्त बन्दै सोलु कांग्रेसको गुट बिरोधि अभियान

काठमाडौं,२४ साउन । कोरोना कहरको बढ्दो संक्रमणले प्रभावित गरेन भने आगामी फाल्गुनको पहिलो हप्ताबाट प्रमुख विपक्षी दल नेपाली कांग्रेसको १४ औं महाधिवेशन हुंदैछ।केन्द्रदेखि जिल्ला तहसम्मका कांग्रेस नेताहरू यतिबेला महाधिवेशन केन्द्रीत रणनीतिमा ब्यस्त छन।घोषित मितिमै महाधिवेशन सम्पन्न गर्नका लागि केन्द्रीय समितिले निर्धारण गरेको कार्यतालिका अनुसार सक्रिय सदस्यता बितरणदेखि तल्ला तहहरुका अधिबेशन गर्नुपर्ने दायित्व पूरा गर्ने जिम्मेवारी यतिबेला पार्टीका सबै जिल्ला कार्य समितिहरुको छ ।


पार्टीका अधिकांश जिल्ला कार्यसमितिहरुले केन्द्रबाट सक्रिय सदस्यताका लागि आवश्यक कागजातहरु बुझेर लगिसके पनि चर्को गुटगत राजनीतिका कारण सोलुखुम्बु कांग्रेसमा सो कागजात कसले बुझ्ने भन्ने अन्यौल छ। सोही अन्योलका कारण जिल्लाका सक्रिय सदस्यता सम्बन्धी कागजात महिनौं देखि त्यत्तिकै केन्द्रमा थन्किएको कांग्रेस कार्यकर्ताहरुको गुनासो छ।सुरुमा पार्टी संगठन सम्बन्धि कार्यलाई बेवास्ता गर्ने र अन्तिम समयमा आ(आफ्ना मान्छे छानेर सदस्यता र जिम्मेवारी दिंदा प्रभावशाली र इमान्दार नेताहरू निरुत्साहित हुने गरेको उनीहरूको आरोप छ ।
कतिपय नेताहरूको गलत कार्यशैलिका कारण जिल्लामा कांग्रेसको अस्तित्व इतिहासकै कमजोर बन्न पुगेको निष्कर्षसहित महाधिवेशनको सम्मुखमा जिल्लाका केहि प्रभावशाली नेताहरू निहित ब्यक्तिगत स्वार्थका लागि खडा भएका त्यस्ता गुटहरुको समुल अन्त्य गर्नुपर्ने भन्दै कार्यकर्ता भेला र भेटघाटमा सक्रिय भएको छ।
अब पनि पार्टी विधि,बिधान र पद्धति अनुसार सन्चालन नभई व्यक्तिगत सनकका आधारमा सन्चालन गर्ने हो भने पार्टी र कार्यकर्ताहरुको भविष्य अन्धकार हुने ठानेर यो अभियान सन्चालन गरिएको उनीहरुको भनाइ छ।नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय कार्यकारिणी समितिका सदस्य समेत रहेका सोलु कांग्रेसका प्रभावशाली नेता प्रकाशसिंह कार्की को नेतृत्वमा सुरु भएको गुट अन्त्यको अभियानमा पार्टीका महाधिवेशन प्रतिनिधी राम बहादुर बस्नेत, नेपाल पर्बतारोहण संघका पूर्ब अध्यक्षसमेत रहेका कांग्रेस नेता आङछिरिङ शेर्पा, नेपाल महिला संघकी केन्द्रीय सदस्य डोल्मा तामाङ, नेपाल दलित संघका केन्द्रीय सदस्य तथा संगठन बिभाग प्रमुख धर्म नेपाली, र सोलु कांग्रेसका युबा नेताहरू अधिबक्ता राजनजङ्ग बस्नेत, शहिदपुत्र समेत रहेका काठमाडौं(सोलु सम्पर्क समितिका सभापति मनोज खड्का, नेपाल शिक्षक संंघ सोलुखुम्बुका अध्यक्ष लालप्रसाद बास्तोला, चुङ्बा शेर्पा र नेबिसंघका नेता दिनराज बास्तोला लगायत सक्रिय रहेको बताइन्छ ।

जिल्लामा पार्टी संगठनलाई सबल र सशक्त बनाउदैं कार्यकर्ताहरुको भविष्य सुनिश्चित गर्नका लागि ब्यक्तिको पछि नभई पार्टीको झन्डा मुनि गोलबद्द हुनुपर्ने भन्दै काठमाडौंमा रहेका जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिकाका अगुवा कार्यकर्ताहरुबाट भेला सुरु गरेको सो अभियान,महाकुलुङ हुँदै लिखुपिकेसम्म पुगेको छ।

केहि दिन अघि मात्रै राजधानीमा महाकुलुङका कार्यकर्तासंग जिल्लामा पार्टीको सांगठनिक अवस्था, अपनाउनु पर्ने रणनीति र आसन्न अधिबेशनको सन्दर्भमा छलफल तथा अन्तरक्रिया गरेको सो समूहले शनिबार लिखुपिकेका कांग्रेस कार्यकर्ताहरुसंग राजधानीमै भेटघाट कार्यक्रम आयोजना गरेको छ। कांग्रेस नेता कार्कीकै आयोजनामा सम्पन्न सो छलफलमा महाधिवेशन प्रतिनिधि राम बहादुर बस्नेत,नेपाल महिला संघ केन्द्रिय सदस्य डोल्मा तामाङ, लिखुपिके ( काठमाडौं सम्पर्कसमितिका सभापति मेजर रामचन्द्र बस्नेत, , ने.बी. संघका नेता दिनराज बास्तोला, कांग्रेस नेताहरु मनोज खड्का राजन बस्नेत, निर कुमार शर्मा , हरि कट्टेल, मणीराज बस्नेत, शिक्षक संघका केन्द्रीय प्रतिनिधि घन बहादुर बस्नेत, लिखुपिके( ५ का वडा अध्यक्ष ङिम छिरी लामा, नेताहरु मोहन जङ्ग बस्नेत, प्रदीप बस्नेत, सुरज बस्नेत, नेतृ उर्मिला खड्का, केशव निरौला लगायतको सहभागिता रहेको थियो ।

