कोरिया पठाईदिने भन्दै ९ लाख ठगी गरेको आरोपमा सोलुखुम्बुका एक जना पक्राउ



काठमाडौँ । वैदेशिक रोजगारीका लागि कोरिया पठाउँछु भनेर ठगेको आरोपमा प्रहरीले सोलुखुम्बुको पासाङल्हामु गाउँपालिका–१ घर भएका ५२ वर्षीय गिताबहादुर मगरलाई पक्राउ गरेको छ ।

शुक्रबार पक्राउ परेका मगरले चार जना पीडितबाट ९ लाख रुपैयाँ ठगी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । मगर काठमाडौंको टोखा नगरपालिका- ६ बस्दै आएका थिए।

प्रहरीका अनुसार पीडितहरूलाई कोरिया पठाउँछु भनेर रकम लिएपछि उनी लामो समयदेखि सम्पर्कविहीन थिए । उनलाई कारबाहीका लागि वैदेशिक रोजगार विभागमा पठाइएको एसपी जिसीले जानकारी दिए ।

उता, फ्री भिसा फ्री टिकटमा घरेलु काममा लगाइ दिने प्रलोभनमा पारी कुवेत पुर्‍याई मानव बेचबखिन गरेको अभियोगमा २ प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा नुवाकोट तादी गाउँपालिका-५ घर भएकी ३२ वर्षीय कुसुम कँडेल र सिन्धुपाल्चोक चौतारा नगरपालिका-६ घर भएका ५० वर्षीय सकुलाल भन्ने माईला लामा तामाङ रहेका छन्।

मानव बेचबखिन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले माईलालाई बिहीबार र कुसुमलाई शुक्रबार काठमा महानगरपालिका-९ बाट पक्राउ गरेको हो।उनीहरूले पीडितलाई मासिक १ सय २० कुवेती दिनार तलबमा काममा लगाइ दिने प्रलोभन देखाई ९ सय कुवेती दिनार लिई २०८० साउन ४ गते नेपालबाट दुबई हुँदै कुवेतको अलजारा पुर्‍याई बेचबखिन गरेको अनुसन्धानबाट खुल्न आएको छ।

उनीहरू उपर मानव बेचबखिन तथा ओसारपसार मुद्दामा काठमाडौं जल्लिा अदालतबाट म्याद थप अनुमती लिई थप अनुसन्धान भइ रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्