मंसिरभित्र काम सुरु नभए नारायणगढ–बुटवल सडकखण्डको ठेक्का तोड्ने प्रधानमन्त्री ओलीको चेतावनी
काठमाडौं।प्रधानमन्त्री केपी शर्मा ओलीले महेन्द्र राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडकखण्ड निर्माणमा भएको ढिलाइका विषयमा छिट्टै टुंगोमा पुगिने बताएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार सडकखण्डमा हाल निर्माणको काम रोकिएको विषयमा सम्बन्धित मन्त्री, मन्त्रालयका अधिकारी, रुपन्देही, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) र नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का सांसद र जनप्रतिनिधिसहितसँगको छलफलमा प्रधानमन्त्री ओलीले आउँदो मंसिरभित्र काम सुरु नभए ठेक्का तोड्नुको विकल्प नहुने बताए । उनले काम गर्ने जिम्मा लिएर २८ वर्षदेखि आयोजना ‘होल्ड’ गर्ने प्रवृत्तिबाट बच्नुपर्ने बताए ।
‘जुन अपेक्षा र तीव्रताका साथ काम गर्न सोचेका थियौँ, त्यो हुन सकेन । त्यस क्षेत्रका बासिन्दाले लामो समयदेखि कष्टपूर्ण रूपमा धुलो–मैलोमा बस्नुपरेको छ । आर्थिक विकासका गतिविधिमा पनि असर परेको छ,’ प्रधानमन्त्री ओलीले भने, ‘हामी निर्णायक निर्णय गर्नुपर्ने अवस्थामा पुगेका छौँ ।’
नवलपरासी (सुस्ता पूर्व)का जिल्ला समन्वय प्रमुख भगौती यादव रुदलले प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र बुझाएका थिए । चाइनास्टेट कम्पनीसँग उक्त सडकखण्ड २२ साउन २०७९ सम्ममा निर्माण सम्पन्न गर्ने गरी ८ चैत २०७५ मा ठेक्का सम्झौता भएको थियो । हालसम्म ४४ प्रतिशत भुक्तानी भइसकेको र ५२ प्रतिशत काम भएको जनाइएको छ ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले निर्माण कम्पनीलाई पटक-पटक ताकेता गर्दा पनि काम सुरु हुन नसकेको र आउँदो डिसेम्बर अन्त्यसम्मका काम सुरु गर्ने आश्वासन प्राप्त भएको जानकारी गराएका थिए । बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, भौतिक पूर्वाधारमन्त्री दाहाल, भूमि व्यवस्था तथा सहकारीमन्त्री बलराम अधिकारी, भौतिक मन्त्रालयका सचिव केशव शर्मालगायत सहभागी थिए । file foto

