थुलुङ दुधकोशीले साउन २२ गतेदेखि विद्यालय सन्चालनमा ल्याउने

सोलुखुम्बु,१ साउन ।जिल्लाको थुलुङ दुधकोशी गाउँपालिकाले बन्द रहेका पालिका भित्रका शिक्षण संस्थाहरु आगामी साउन २२ गते बिहिबारदेखि सन्चालनमा ल्याउने भएको छ। बिहिवार बसेको गाउँपालिका शिक्षा समितिको बैठकले कोरोना भाइरस covid-19)को संभावित संक्रमण रोकथाम र नियन्त्रणका लागि सरकारले घोषणा गरेको बन्दाबन्दी (Lock Down) का कारण बन्द रहेका सामुदायिक विद्यालयहरु सन्चालनमा ल्याउने निर्णय गरेको गाउँपालिका अध्यक्ष अशिम राइले जानकारी दिनुभयो । अध्यक्ष राइका अनुसार स्वास्थ्य सम्बन्धि नेपाल सरकार र सम्बन्धित निकायले निर्माण गरेको स्वास्थ्य सम्बन्धी मापदण्ड र प्रोटोकलका आधारमा शिक्षण संस्था सन्चालन गरिने छ।विद्यालय संचालनका क्रममा संक्रमण बढेमा वा नेपाल सरकारबाट विशेष निर्देशन/परिपत्र भएमा सोही बमोजिम गर्ने गरि पालिकाको शिक्षा समितिले सो निर्णय गरेको राइको भनाइ छ। बन्दाबन्दीका कारण सोलुखुम्बु जिल्ला बाहिर रहेको विद्यालयमा कार्यरत शिक्षक/कर्मचारीहरुलाइ साउन५ गते भित्र अनिवार्यरुपमा सम्बन्धित विद्यालय तथा प्रद्यानाध्यापकसंग सम्पर्क गर्न अनुरोध गर्ने निर्णय गर्दै बैठकले विद्यालयमा आईसकेपछि १४ दिन अनिवार्य होम/Self क्वारेन्टाईनमा बस्नुपर्ने निर्णय समेत गरेको छ। साथै विद्यालय संचालन गर्दा सामुदायिक दुरी अनिवार्य कायम गर्ने ,विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको लागि टिफिन/खाजामा स्थानीय उत्पादनलाई प्रोत्साहित गरी जंङफुडलाई कडाईका साथ निरुत्साहित गर्ने र विद्यालय संचालनको सन्दर्भमा प्रत्येक सामुदायिक विद्यालयहरुले वडा शिक्षा समितिसंग समन्वय गरी सो सम्बन्धि अभिभावकहरुलाई अभिमुखिकरण गर्ने निर्णय निर्णय भएको अध्यक्ष राइले रहस्य खबरलाई बताउनु भयो।


