पक्राउ परेका १० बैंकर्समाथि अनुसन्धान गर्न सात दिनको म्याद थप



काठमाडौं । प्रभु बैंकका सिनियर डेपुटी प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ) मनोज न्यौपानेसहित १० बैंकर्समाथि अनुसन्धान गर्न सात दिनको म्याद थप गरिएको छ ।

हिरासतमा राखेर अनुसन्धान गर्न उच्च अदालत पाटनले म्याद थप गरेको हो । बैंकिङ कसुरमा संलग्न भएको आरोपमा १० बैंकर्स मंगलबार पक्राउ परेका हुन् ।कर्जा प्रवाह गर्दा धितो स्वरुप बैंकमा कर्जा सुरक्षणबापत राखिने धितोको मूल्यांकन कम गरेर बढी ऋण प्रवाह गरेको भन्दै बैंकर्सलाई पक्राउ गरेको थियो ।

एक अर्ब १४ करोड २३ लाख रुपैयाँको धितोबापत दुई अर्ब ११ करोड ६५ लाख रुपैयाँ कर्जा प्रवाह भएको देखिएको हो । सीआईबीले यस घटनामा संलग्न भएको पाएपछि प्रभु बैंकका सिनियर डेपुटी सीईओ न्यौपानेसहित सेन्चुरीका तुलसीराम गौतम, सविन घिमिरे, सुवासबहादुर श्रेष्ठ, अनुपमा श्रेष्ठ प्रधान, सुनील बस्नेत, दिलीप बराल, दिपेश प्रधान, राजेश भण्डारी र रमण श्रेष्ठ पक्राउ परेको थियो । प्रभु बैंकले सेन्चुरीलाई प्राप्त गरेपछि यी सबै प्रभु बैंकमा आएका थिए ।

मनोज, दिपेश र राजेश प्रभु बैंकमा उच्च तहमा कार्यरत छन् । तुलसीराम सेन्चुरी बैंकका पूर्वसीईओ हुन् ।

प्रतिक्रिया दिनुहोस्