नेचासल्यानमा तीनदिने तीन दिने नि:शुल्क आँखा अपरेसन शिबिर सुरु, आज ८ जनाको शल्यक्रिया गरिंदै



खगिन्द्रराज बास्तोला,सोलुखुम्बु । नेचासल्यान गाउँपालिकामा तीन दिने नि:शुल्क आँखा अपरेसन शिबिर सुरु भएको छ।

गाउँपालिकाको आयोजना तथा काठमाडौंको त्रिपुरेश्वरस्थित नेपाल आँखा अस्पतालको प्राविधिक सहयोगमा नेचासल्यान सामुदायिक अस्पतालमा मंगलबारबाट सुरु भएको सो शिबिरको पहिलो दिन १११ जना स्थानीयले सेवा लिएका थिए।सेवा लिने मध्ये ८ जनामा मोतिबिन्दुको समस्या देखिएको छ । उनीहरूको मोतिबिन्दुको शल्यक्रिया आज बिहान ८ बजेबाट गरिने गाउँपालिका स्वास्थ्य शाखाका सहसंयोजक सुजन भट्टराईले रहस्य खबरलाई बताए।शल्यक्रिया गर्नुपर्ने बिरामीहरुका लागि गाउँपालिकाले नै नि:शुल्क आवासको ब्यबस्था गरेको बताईएको छ।

स्वास्थ्य शाखा सहसंयोजक भट्टराईका अनुसार शिबिरमा नेपाल आँखा अस्पतालका निर्देशक डा.कमल खड्का,सोही अस्पतालका रेजिडेन्ट डा.सुभानी शर्मा र अन्य चिकित्सकहरु केशव देवकोटा,श्याम श्रेष्ठ,कृष्टिना केसी,राजेन्द्र गिरी र लंकराज तामाङले सेवा दिइरहेका छन्।

बिहिवार सम्पन्न हुने सो शिबिरको नेचासल्यान गाउँपालिका सामाजिक बिकास संयोजक समेत रहेका वडा नं-४ का वडाध्यक्ष इन्द्रबहादुर राईले मंगलबार उद्घाटन गरेका थिए।उद्घाटन कार्यक्रममा गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत युवराज पोखरेल,अन्य कर्मचारी र जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस्