सरकार गठनको बिषयले कोशी कांग्रेसमा भाँडभैलो,केदारद्वारा मुख्यमन्त्रीमा दावी,हिमालको राजीनामा



बिराटनगर।कोशी प्रदेश सरकार गठनको बिषयलाई लिएर नेपाली कांग्रेसमा भाँडभैलो मच्चिएको छ।

नेपाली कांग्रेस संस्थापन समूहको समर्थनमा नेकपा (माओवादी केन्द्र)का सांसद इन्द्रबहादुर आङ्बोले दाबी पेश गरे लगत्तै संस्थापन इतर समूहले त्यसलाई अस्वीकार गर्दै आफैंले मुख्यमन्त्रीमा दावी पेश गरेको मात्र छैन संसदीय दलका उपनेता हिमाल कार्कीले सो पदबाट राजीनामा समेत दिएका छन् ।

आङ्बोले बिहीबार साँझ प्रदेश प्रमुख परशुराम खापुङ समक्ष दाबी पेश गरेका हुन्। उनलाई नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा)ले समर्थन रहेको जनाईएको छ।

कोशी प्रदेश सभामा कांग्रेसका ३९, माओवादीका १३, एकीकृत समाजवादीका चार र जसपाका एक गरी ४७ सांसद छन्। ९३ सदस्यीय प्रदेश सभामा सरकार गठनका लागि ४७ सांसदको समर्थन आवश्यक पर्छ।

मुख्यमन्त्रीमा आङ्बोले दाबी पेश गर्दा कांग्रेस संसदीय दलका नेता उद्धव थापा, एकीकृत समाजवादीका नेता राजेन्द्र राई लगायत नेताहरू उपस्थित थिए।

यसअघि काठमाडौंमा बसेको सात दलको बैठकले मुख्यमन्त्रीमा आङ्बोलाई समर्थन गर्ने निर्णय गरेको थियो। त्यस लगत्तै उनले दाबी पेश गरेका हुन्।

तर दलको निर्णयलाई चुनौती दिंदै नेपाली कांग्रेस कोशी प्रदेशसभा सदस्य केदार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसमक्ष मुख्यमन्त्रीको दाबी गरेका छन्।कार्की पक्षले आङ्बोले आफुहरुको हस्ताक्षर दुरुपयोग गरेको आरोप समेत लगाएको छ।

कार्कीले नेकपा एमालेका ३९ र उनकै दलको ८ जनाको सांसदको समर्थन लिएर मुख्यमन्त्री दाबी पेस गरेका हुन्।बहुमत ४७ सांसदको समर्थन लिएर संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्रीको दाबी पेश गरेको कार्कीले बताए।

उता,नेपाली कांग्रेस संसदीय दलका उपनतो हिमाल कार्कीले राजीनामा दिएका छन् ।उनले दल नेता उद्धव थापालाई राजीनामा बुझाएका हुन्।विविध कारणले दल उपनेताको जिम्मेवारीमा रहने नसक्ने भन्दै उनले आजकै मितिदेखि लागू हुने गरी राजीनामा दिएका हुन् ।

कांग्रेस प्रदेश सभा सदस्यको हैसियतमा दलप्रति इमान्दार भएर भूमिका निर्वाह गर्ने उनले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्