एमालेको कोशी प्रदेश अधिबेशन आजबाट बिराटनगरमा सुरु हुँदै,अध्यक्ष ओलीले उद्घाटन गर्ने
विराटनगर । नेकपा (एमाले)को कोसी प्रदेश अधिवेशन आजबाट सुरु हुँदै छ । अधिवेशनको उद्घाटन पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्नेछन् ।

दुई दिनसम्म चल्ने अधिवेशनमा स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय नेताहरू सहभागी हुनेछन् । सम्पर्क मञ्च र कमिटीबाट पनि आमन्त्रण गरिएको छ ।अधिवेशनबाट पाँच पदाधिकारीसहित २१५ सदस्यीय कमिटी चयन हुनेछ ।
कोशी प्रदेशमा ९५ हजार १ सय ३९ जना पार्टी सदस्य रहेको एमालेमा अधिवेशनका लागि १३७ स्थानीय तह, २३ जनवर्गीय संगठन, दलित, मजदुर समेत गरी १ हजार ५० जनासम्म प्रतिनिधि र पर्यवेक्षक सहभागी हुने एमालेले जनाएको छ।
हालसम्म ९९७ जना प्रतिनिधि चयन भइसकेका छन्। अब त्यसको पाँच प्रतिशत प्रतिनिधि चयन हुन बाँकी रहे पनि विवादका कारण चयन हुन सकेको छैन।
स्रोतका अनुसार अधिवेशनबाट अध्यक्षको पुनः दाबी गरिरहेका हालका अध्यक्ष तुलसी न्यौपाने पक्ष प्रतिनिधि मनोनयन गर्नुपर्ने पक्षमा छ भने अर्का दाबेदार विनोद ढकाल पक्ष मनोनयन गर्न नहुने पक्षमा छन्।
एमाले प्रदेशको अध्यक्ष बन्न प्रदेश कमिटीका हालका अध्यक्ष न्यौपाने, केन्द्रीय सदस्य विनोद ढकाल, नेताहरू घनश्याम खतिवडा र टीकाराम चेम्जोङ दौडमा छन्। यीमध्ये विनोद ढकाल, घनश्याम खतिवडा र टीकाराम चेम्जोङ चुनाव लडेरै भए पनि नेतृत्वमा जाने मानसिकतामा छन्। अध्यक्ष न्यौपाने भने सर्वसम्मत भए दोहोरिने अन्यथा प्रतिष्पर्धामा नजाने सोचमा रहेको नेताहरु बताउँछन्।
पार्टीका प्रदेश इन्चार्ज रघुवीर महासेठले सकेसम्म नेतृत्व चयन सर्वसम्मत हुने सहमति नजुटे निर्वाचनमा जाने बताए ।

