एमाले बागमती प्रदेश अधिबेशन सुरु, नेतृत्वका लागि आधा दर्जन बढी आकांक्षी



काठमाडौं।नेकपा एमाले बागमती प्रदेश अधिवेशन काठमाडौँमा सुरु भएको छ । भृकुटीमण्डपस्थित राष्ट्रियसभा गृहमा अध्यक्ष केपी शर्मा ओलीले रिमोर्टमार्फत ड्रोन उडाएर र दीप प्रज्वलन गरेर अधिवेशनको उद्घाटन गरेका हुन् ।

उद्घाटन समारोहमा एमालेका शीर्ष नेताका साथै १ हजार ८० जना प्रतिनिधि छन् । उनीहरुले बागमती प्रदेशको नयाँ नेतृत्व चयन गर्ने छन् । यसअघि ४४७ सदस्यीय रहेको बागमती प्रदेश कमिटी यो अधिवेशनबाट ५ जना पदाधिकारी सहित २४० सदस्यीय बन्नेछ ।

अध्यक्ष पदमा झण्डै आधा दर्जन बढी नेता आकांक्षी छन् । अध्यक्षका लागि वर्तमान अध्यक्ष केशव पाण्डे, कृष्ण दाहाल, कैलाश ढुंगेल, विजय सुवेदी, भूमि त्रिपाठी, खेम लोहनी, कृष्णभक्त पोखरेल लगायत आकांक्षी छन् ।

सर्वसम्मत अध्यक्ष चयनको प्रयास भइरहे पनि अब त्यो सम्भावना लगभग सकिएको नेताहरुको भनाइ छ । यदि चुनाव हुने स्थिति आएमा केशवराज पाण्डे, कैलाश ढुंगेल र कृष्ण दाहालबीच प्रतिस्पर्धा हुने अनुमान छ ।

यसअघि लुम्बिनी प्रदेशमा सर्वसहमतिको प्रयास असफल भएपछि मतदानबाट नेतृत्व टुंगो लगाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्