माओवादी केन्द्रले दियो राष्ट्रपतिबारे निर्णय गर्ने अधिकार दाहाललाई
काठमाडौं।सत्ताको नेतृत्व गरिरहेको दल नेकपा माओवादी केन्द्रले राष्ट्रपतिको उम्मेदवार चयनको अन्तिम निर्णय गर्ने अधिकार पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिएको छ।

सोमबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकले राष्ट्रपतिको उम्मेदवार चयनको अन्तिम निर्णय गर्ने अधिकार प्रचण्डलाई दिएको हो।बैठकमा राष्ट्रपतिको उम्मेदवारमा राष्ट्रिय सहमति गर्ने पनि औपचारिक निर्णय भएको बैठकपछि पार्टी प्रवक्ता कृष्ण बहादुर महराले जानकारी गराए।
सत्ता गठबन्धनमा राष्ट्रपति नेकपा एमालेलाई दिने सहमति भएको बताइए पनि प्रधानमन्त्री प्रचण्ड भने राष्ट्रपतिमा राष्ट्रिय सहमति हुनुपर्ने बताउँदै आएका थिए।माओवादीले राष्ट्रपतिमा कांग्रेसलाई सघाउने आँकलन भइरहेको बेला पछिल्लो समय एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको नामसमेत राष्ट्रपतिका लागि चर्चामा छ। पार्टीको पदाधिकारी बैठकमा जानुअघि प्रचण्डले नेपालसँग भेटवार्तासमेत गरेका थिए।

