बिपदको कठिन समयमा पाकिस्तान नेपाल सरकार र नेपाली जनताको साथमा छ : पाकिस्तानी प्रधानमन्त्री शरीफ
काठमाडौं,११ भदौ । नेपालको रसुवा जिल्ला तथा अन्य प्रभावित क्षेत्रमा बाढीबाट भएको जनधनको क्षतिप्रति पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले दुःख व्यक्त गरेका छन्।

प्रधानमन्त्री शरीफले सामाजिक सञ्जाल एक्समार्फत बुधबार साँझ सन्देश जारी गर्दै बाढीपहिरोमा परी ज्यान गुमाएका व्यक्तिका परिवारप्रति हार्दिक समवेदना व्यक्त गरेका हुन्। उनले प्राकृतिक विपदबाट प्रभावित सबैप्रति सहानुभूति जनाउँदै प्रभावित क्षेत्रमा रहेका नागरिकको सुरक्षा तथा स्वास्थ्यलाभको कामना गरेका छन्।
शरीफले विपद्को यस कठिन समयमा पाकिस्तान सरकार र जनता नेपाल सरकार तथा नेपाली जनताको साथमा रहेको बताएका छन्। उनले बाढीपहिरोका कारण भएको व्यापक क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै प्रभावित परिवारप्रति ऐक्यबद्धता जनाएका छन् ।
उनले नेपालमा आएको विपदबाट प्रभावित सबैको सुरक्षा र कल्याणका लागि प्रार्थना गरेको उल्लेख गरेका छन्।

