बाढीका कारण भएको जनधनको क्षतिप्रति पूर्बराजा ज्ञानेन्द्र दुखी,उद्धार र राहतमा एकजुट भएर लाग्न आग्रह



काठमाडौं,१० भदौ । पूर्वराजा ज्ञानेन्द्र शाहले चीनको स्वशासित क्षेत्र तिब्बतमा हिमताल फुटेर आएको भीषण बाढीका कारण नेपालका विभिन्न जिल्लामा भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ ।

पूर्वराजा शाहले बुधबार जारी गर्नुभएको सन्देशमा भोटेकोसी र त्रिशूली नदीमा प्रवेश गरेको बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन र नवलपरासीका नदी तटीय क्षेत्रका बजार, बस्ती तथा सर्वसाधारण प्रभावित भएको उल्लेख गर्नुभएको छ । बाढीका कारण बाटोघाटो, पुलपुलेसा, विद्युत् आयोजना लगायतका भौतिक संरचना तथा खेतीपातीमा समेत अपार क्षति पुगेको उहाँले उल्लेख गर्नुभएको छ ।

प्राकृतिक विपद्मा परी ज्यान गुमाएकाहरूप्रति आत्माको चिरशान्तिको कामना गर्दै उहाँले शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्नुभएको छ । साथै, विपद्मा परी घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै सुरक्षाकर्मीसहित बेपत्ता नागरिकको तत्काल खोजी कार्यलाई तीव्रता दिन आवश्यक रहेको उहाँले बताउनुभएको छ ।

प्राकृतिक विपद्को यस दुःखद् घडीमा खोजी, उद्धार, राहत तथा उपचारका कार्यमा कुनै कमी हुन नदिन सम्बन्धित सबै निकायलाई उहाँले आग्रह गर्नुभएको छ । सरकार, सुरक्षा निकाय, राष्ट्रसेवक, स्थानीय तह, सामाजिक संघसंस्था तथा आम नागरिक सबैले आ–आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्दै विपद्मा परेकाहरूको उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन एकजुट हुनुपर्ने उहाँको आग्रह छ ।

सीमासँग जोडिएको छिमेकी देशमा आएको प्राकृतिक विपद्ले अर्को देशलाई समेत प्रत्यक्ष प्रभाव पार्न सक्ने भएकाले यस्ता प्रकोपबाट हुने क्षति न्यूनीकरणका लागि अलग–अलग प्रयासभन्दा द्विपक्षीय संयुक्त प्रयासमार्फत अघि बढ्न सकिने विषयमा सबैले मनन गर्न आवश्यक रहेको उहाँको भ बताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्