रसुवामा तिब्बततिरबाट आएको बाढीले मच्च्यायो भयानक बितण्डा



काठमाडौं,१० भदौ । तिब्बततर्फबाट आएको अचानकको भीषण बाढीले रसुवामा ठूलो क्षति पुर्‍याएको छ । बाढीका कारण नेपाल प्रहरीका तीन वटा कार्यालयमा क्षति पुगेको छ भने बोर्डर आउट पोस्ट (बीओपी) मा खटिएका ९ जना सशस्त्र प्रहरी सम्पर्कविहीन भएका छन् ।

प्रहरी प्रधान कार्यालयका अनुसार बाढीबाट इलाका प्रहरी कार्यालय टिमुरे, प्रहरी चौकी स्याप्रुबेसी र प्रहरी चौकी रसुवागढीमा ठूलो क्षति भएको छ । ती कार्यालयमा कार्यरत प्रहरी कर्मचारीको अवस्था र भएको क्षतिको विस्तृत विवरण भने संकलन भइरहेको प्रहरीले जनाएको छ ।

यसैबीच, बाढी प्रभावित क्षेत्रमा खटिएका ९ जना सशस्त्र प्रहरीसमेत सम्पर्कविहीन भएका छन् । सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार सम्पर्कविहीन प्रहरीसँग सम्पर्क स्थापित गर्ने प्रयास भइरहे पनि अहिलेसम्म सफल हुन सकेको छैन ।

बाढीपछि रसुवाको भोटेकोशी आसपासको क्षेत्रमा जनजीवन प्रभावित भएको छ । सुरक्षाकर्मीहरू उद्धार तथा खोजीमा परिचालित भए पनि बाढीको तीव्र बहाव र क्षतिको व्यापकताका कारण घटनाको यकिन विवरण संकलनमा कठिनाइ भइरहेको छ ।

उद्धार तथा राहतका लागि नेपाली सेनाले पनि थप जनशक्ति र स्वास्थ्य टोली परिचालन गरेको छ । नेपाली सेनाको एआई–१७ हेलिकप्टर इमर्जेन्सी मेडिकल रेस्क्यु टिम (ईएमआरटी) सहित काठमाडौंबाट जिल्ला अस्पताल त्रिशूलीतर्फ उडेको सेनाका प्रवक्ता तथा सहायक रथी राजाराम बस्नेतले जानकारी दिए ।

उनका अनुसार धुन्चे र त्रिशूलीबाट समेत उद्धार टोली प्रभावित क्षेत्रतर्फ परिचालन गरिएको छ । यसअघि नै नेपाली सेनाका दुई वटा हेलिकप्टर बाढी प्रभावित क्षेत्रमा उद्धारका लागि परिचालन भइसकेका छन् ।

बुधबार बिहान तिब्बततर्फबाट रसुवाको भोटेकोशी नदीमा अचानक ठूलो बाढी आएको थियो । बाढीको प्रभाव रसुवाबाट नुवाकोट हुँदै धादिङतर्फ समेत फैलिएको छ । बाढीका कारण नदी आसपासका बस्ती, सडक, पूर्वाधार तथा सुरक्षा निकायका संरचनामा क्षति पुगेको प्रारम्भिक विवरण प्राप्त भएको छ ।

घटनापछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली उद्धार तथा खोजी कार्यमा जुटेको छ । बाढीका कारण सम्पर्क विच्छेद भएका सुरक्षाकर्मी तथा अन्य प्रभावित नागरिकको अवस्थाबारे थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्