रसुवा बाढी : प्रभावित क्षेत्रमा समस्यामा परेको भए सम्पर्क गर्न नेचासल्यानबासीलाई अध्यक्ष राईको आग्रह



सोलुखुम्बु,१० भदौ । जिल्लाको नेचासल्यान गाउँपालिकाले रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा बुधबार आएको भीषण बाढीबाट प्रभावित नागरिकलाई तत्काल सहयोग र समन्वय उपलब्ध गराउन अपिल गरेको छ।

नेचासल्यान गाउँपालिकाका अध्यक्ष धनजन राईद्वारा जारी विज्ञप्तिमा भदौ १० गते बिहान आएको भीषण बाढीका कारण रसुवा,नुवाकोट,धादिङलगायत सीमाना जोडिएका जिल्लाका नदी तटीय क्षेत्रमा जनधनको क्षति भएकोप्रति दुःख व्यक्त गरिएको छ।

गाउँपालिकाले विपद्को यस विषम परिस्थितिमा नेचासल्यान गाउँपालिकाबाट व्यापार–व्यवसाय,शिक्षा अध्ययन तथा विभिन्न पेसा वा व्यवसायका सिलसिलामा प्रभावित क्षेत्रमा रहेका नागरिकलाई कुनै किसिमको समस्या वा आपतबिपत परेको भए तत्काल सहयोग र समन्वयका लागि गाउँपालिकाका जनप्रतिनिधि तथा कर्मचारीलाई सिधै सम्पर्क गर्न आग्रह गरेको छ।

नेचासल्यान गाउँपालिकाको विज्ञप्तिले विपद्का बेला आफ्नो गाउँपालिकाका नागरिक जहाँसुकै समस्यामा परे पनि स्थानीय सरकारको सम्पर्कमा आउन र आवश्यक सहयोग तथा समन्वय लिन आग्रह गरेको छ।

भोटेकोशी नदीमा आएको आकस्मिक बाढीले रसुवा हुँदै नुवाकोट, धादिङलगायत तल्लो तटीय क्षेत्रमा समेत जोखिम बढाएको छ। बाढीपछि प्रभावित क्षेत्रमा उद्धार तथा खोजी कार्य तीव्र पारिएको छ भने नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। file foto

प्रतिक्रिया दिनुहोस्