भोटेकोशी, त्रिशूली र नारायणी नदी किनारका नागरिकलाई विशेष सतर्कता अपनाउन प्राधिकरणको अनुरोध



काठमाडौं,१० भदौ । भोटेकोशी नदीमा तिब्बततर्फबाट ठूलो बाढी प्रवेश गरेपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले नदी तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

प्राधिकरणले बुधबार विशेष सूचना जारी गर्दै अर्को सूचना नआएसम्म भोटेकोशी, त्रिशूली र नारायणी नदीको तटीय क्षेत्रमा रहने सबै नागरिकलाई विशेष सतर्कता अपनाउन अनुरोध गरेको हो।

बाढीका कारण नदीको बहाव बढ्ने जोखिम रहेकाले सुरक्षित स्थानमा रहन प्राधिकरणले आग्रह गरेको छ।
प्राधिकरणका अनुसार रसुवा, धादिङ, नुवाकोट, गोरखा, चितवन र तनहुँ जिल्लाका नदी तटीय क्षेत्रमा बसोबास गर्ने परिवारलाई सुरक्षित स्थानमा जान अनुरोध गरिएको छ। खोज तथा उद्धार आवश्यक परेमा वा अन्य कुनै सहयोग आवश्यक भएमा नेपाल प्रहरीको १००, जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रको १२३४ तथा सशस्त्र प्रहरीको १११४ नम्बरमा सम्पर्क गर्न सकिने प्राधिकरणले जनाएको छ।

बाढीको जोखिमलाई ध्यानमा राख्दै प्राधिकरणले पृथ्वी राजमार्ग, गल्छी–नुवाकोट–रसुवा–स्याफ्रुबेसी सडक तथा मुग्लिङ–नारायणगढ सडकमा यात्रा नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ। ती क्षेत्रमा आवतजावतमा पूर्ण रोक लगाउन स्थानीय तह तथा प्रशासनलाई समेत अनुरोध गरिएको छ।

प्राधिकरणले नदी किनार तथा तटीय क्षेत्रमा रहेका नागरिक, आयोजना, कार्यालय तथा अन्य संरचनालाई विशेष सावधानी अपनाउन र सम्भावित जोखिमबाट जोगिन आवश्यक पूर्वतयारी गर्न आग्रह गरेको छ।
प्राधिकरणका उपसचिव एवं प्रवक्ता शान्ति महतद्वारा जारी सूचनामा विपद्पछिको खोज, उद्धार तथा राहत कार्यमा समन्वय, सहयोग र सहजीकरण गर्न सम्बन्धित सबैमा अपिल गरिएको छ।

प्राधिकरणले भोटेकोशीमा आएको बाढी त्रिशूली नदी हुँदै मुग्लिङसम्म प्रभाव पार्न सक्ने भन्दै नदी आसपासका क्षेत्रमा अनावश्यक रूपमा नजान र सुरक्षित स्थानमा रहन आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्