सेनाले भव्य रुपमा मनायो ३०१ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस



काठमाडौं। नेपाली सेनाले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको स्मृतिमा पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस २०७९ विविध कार्यक्रमको आयोजना गरी भव्यरूपमा मनाएको छ ।

यसै क्रममा पुस २१ गतेदेखि पुस २७ गतेसम्म एकीकरण मार्ग पदयात्रा सञ्चालन भएको थियो । पृथ्वीनारायण शाहले नेपालको एकीकरण अभियानको थालनी गर्ने बेला स्थापना भएका पाँच वटा पल्टनको प्रतिनिधित्व हुने गरी सञ्चालन भएको पदयात्रा गोरखाबाट धादिङ, नुवाकोट, काठमाण्डौ हनुमानढोका हुदै जङ्गी अड्डा पुगेर समापन भएको हो । त्यस पदयात्रा टोली काठमाण्डौ पुगेपछि पृथ्वीनारायण शाहको फोटो बग्गीमा राखी नगर परिक्रममा गरिएको थियो ।

यस अवसरमा जङ्गी अड्डामा आयोजित विशेष समारोहमा प्रधानसेनापति महारथी प्रभुराम शर्माले जङ्गी अड्डामा रहेकाे पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गर्नुभएको थियो । यसै क्रममा कविता प्रतियोगिताका उत्कृष्ट कविताहरू वाचन गर्नुका साथै प्रा. डा. जगमान गुरुङ र प्रा. डा. घनश्याम भट्टराईबाट पृथ्वीनारायण शाहको दिव्याेपदेश सम्बन्धी प्रवचन भएको थियो । प्रधान सेनापतिले कविता प्रतियोगिता तथा लघु नाटक प्रतियोगिताका विजयी सकलदर्जा तथा छात्रछात्रालाई पुरस्कृत गर्नुभयो ।

आज नै प्रधानसेनापति महारथी शर्माले गोरखामा रहेकाे गोरखा दरबार, ठूलो आँगनमा नेपालको राष्ट्रिय झन्डाकाे झन्डाेत्तोलन तथा बिगुलद्वारा विजय ध्वनिसहित राष्ट्र निर्माता सलामी अर्पण गर्ने कार्यको शुभारम्भ र पृथ्वीनारायण शाहको पूर्णकदको सालिक अनावरण गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्