सोलुखुम्बु : मोटरेवल पुल निर्माणमा नगर्ने कम्पनीलाई कारबाही गर्न प्रजिअको ध्यानाकर्षण
सोलुखुम्बु।थुलुङ दुधकोशी गाउँपालिकाले मोटरेवल पुल निर्माण नगर्ने कम्पनीलाई कार्वाही गर्न माग गरेको छ । गाउँपालिका भित्र पर्ने दुधकोशी नदीको दिप्लीघाट र बर्खुघाटमा पुल निर्माणको जिम्मा पाएको महादेव खिम्ती हिराचन जेभिले काम नगरेपछि कार्वाही गर्न माग गरेको हो ।

सोमबार जिल्ला प्रशासन कार्यालय सोलुखुम्बु मार्फत भौतिक पुर्वधार तथा यातायात मन्त्रालयलाई गाउँपालिकाको सम्पुर्ण वडा अध्यक्षको टोली उपस्थित भएर ध्यानाकर्षण पत्र बुझाएको छ । पालिका प्रवक्ता भोजराज कार्कीको नेतृत्वमा गएको टोलीले उक्त ध्यानाकर्षण पत्रमार्फत कम्पनीलाई तत्काल कार्वाही गरि निर्माण कार्य अघि बढाउन आग्रह गरिएको छ । अब गाउँपालिका अध्यक्षको टोली मन्त्रालय पुग्ने बताइएको छ ।
निर्माणको जिम्मा पाएपनि काम नगरी बस्ने कम्पनीको लापरबाहीका कारण नागरिकले दुख पाएको गाउँपालिका अध्यक्ष राईले बताउनुभयो । काम नगर्ने यस्ता कम्पनीलाई कानुनी कठगारामा ल्याउने सबालमा कुनै कसर बाकी नराख्ने उहाँको भनाइ छ ।
सडक विभाग र पुल महाशाखा अन्तरगतको बजेटबाट दिप्लीघाट पुल निर्माणको लागि रु.१० करोड १८ लाख बजेटमा २०७८ साल असार २३ गते निर्माण सम्पन्न गर्ने गरि उक्त कम्पनीले २०७५ साल असार २४ गते सम्झौता गरेको छ । यस्तै रु.११ करोड ६० लाख लागतमा ३३ महिना भित्र काम सक्ने गरि २०७७ साल भदौ १० गते महादेव खिम्ती हिराचन जेभीले सम्झौता गरेको थियो । निर्माण सम्पन्न हुने मिति सकिदा समेत कार्य प्रगति नहुनु र निर्माण व्यवसायी महासङ्गका अध्यक्ष समेत रहेका रवि सिंले जिम्मा लिएको काम अलपत्र हुनुले सिंगो नेपालको ऐन, कानुन र कार्यविधिको समेत धज्जी उडाएको ध्यानाकर्षण पत्रमा भनिएको छ ।
काम नगर्ने निर्माण कम्पनीलाई कानुन अनुसार तत्काल कार्वाही गरि नयाँ ठेक्का टेण्डर प्रक्रिया मार्फत निर्माण कार्य सुरु गराउने पहलको निम्ती उक्त पत्रमार्फत अनुरोध गरिएको छ ।

