कार्की प्रदेश नं-१ को मुख्यमन्त्री बन्दै
बिराटनगर।प्रदेश नं-१ को मुख्यमन्त्री नेकपा एमालेका स्थायी कमिटी सदस्य हिक्मतकुमार कार्की बन्ने निश्चित भएका छन।

नेकपा एमाले ,नेकपा माओवादी केन्द्र र राप्रपा लगायतका दलहरुको गठबन्धनबाट कार्की मुख्यमन्त्री बन्ने भएका हुन ।प्रदेश प्रमुख पर्शुराम खापुङले आज साँझसम्म दिएको समय नसकिँदै आजै कार्कीले मुख्यमन्त्रीमा दावी पेस गर्ने भएका छन् ।कार्की प्रदेश १ का पूर्व आन्तरिक मामिला तथा कानुनमन्त्री पनि हुन्। एमाले नेतृत्वको सरकारका पालामा उनी आन्तरिक मामिला मन्त्री थिए।
केही दिनअघि पार्टीको संसदीय दलको बैठकले उनलाई संसदीय दलको नेता चुनेको थियो।सत्ता गठबन्धनका दलहरूले मुख्यमन्त्री नेकपा एमालेलाई दिने सहमति गरेपछि एमाले संसदीय दलका नेता कार्कीलाई मुख्यमन्त्री बन्ने बाटो खुलेको हो।
प्रदेश १ को ९३ सदस्यीय प्रदेशसभाको सबैभन्दा ठूलो दल एमालेसँग ४० सिट सुरक्षित छ । सरकारमा सहभागी हुने माओवादीसँग १३, राप्रपासँग ६ र जसपासँग एक सिट छ । त्यसैगरी प्रमुख प्रतिपक्षमा पुग्ने नेपाली कांग्रेससँग २९ र नेकपा एकीकृत समाजवादीसँग ४ सिट रहेको छ । सरकार गठनका लागि बहुमत संख्या ४७ हो । हाल कायम भएको नयाँ सत्ता गठबन्धनसँग सरकार गठनका लागि ६० सिट सुरक्षित भइसकेको छ ।

