सरुवा बढुवाका लागि भनसुन गराए कारबाही : गृहमन्त्री लामिछाने



काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले आफ्नो इच्छा पूरा गर्न राजनीतिज्ञ तथा अन्य माथिल्लो निकायमा भनसुनका लागि गए कारबाही हुने चेतावनी फेरि दिएका छन्।

सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हलचोकको निरीक्षण भ्रमणपछि आज यहाँ आयोजित समारोहलाई सम्बोधन गर्दै गृहमन्त्री लामिछाने कर्मचारीको सरुवा, बढुवालगायत कार्यहरू क्षमता,व्यावसायिकता, नैतिकता र ज्ञानमा आधारित हुने स्पष्ट पार्दै त्यस्तो चेतावनी दिएका हुन्।

सेवामा रहँदा सरुवा र बढुवाको विषयले धेरैको मन अमिलो भएको हुनसक्ने उल्लेख गर्दै अब त्यस्तो नहुने पनि बताए।
सो समारोहमा गृहमन्त्री लामिछानेले सङ्गठनमा रहँदा नजिक र पराइ तथा भित्र र बाहिर भन्ने प्रवृत्तिलाई हटाइ प्राप्त जिम्मेवारीलाई कुशलताका साथ निभाउन पनि आग्रह गरे। उनले विगतमा भएका कमजोरीलाई सुधार गर्दै प्रशासनिक एवं व्यवस्थापकीय पक्षमा शून्य कमजोरीका साथ कार्यसम्पादन गर्न निर्देशन दिए।(फाइल फोटो)

प्रतिक्रिया दिनुहोस्