प्रदेश १ सरकारले तोकेको मापदण्ड पुरा गर्ने २७ विद्यालय नगदसहित सम्मानित
खगिन्द्रराज बास्तोला,बिराटनगर ।प्रदेश १ सरकारले तोकेको मापदण्ड पुरा गरी उत्कृष्ट हुने प्रदेश भित्रका १४ वटा मावि र १३ वटा आधारभूत विद्यालय गरी २७ विद्यालयहरुलाई नगदसहित सम्मानित गरिएको छ।

सामाजिक विकास मन्त्रालयद्वारा बुधबार विराटनगरमा आयोजित कार्यक्रममा उत्कृष्ट हुने माविलाई १४/१४ लाख र आधारभूत विद्यालयहरूलाई प्रतिविद्यालय ७ लाख ५० हजार रुपैयाँका दरले प्रोत्साहन रकम दिइएको हो।सम्मानित गरिएका विद्यालयहरूका प्रधानाध्यापकलाई १ नम्बर प्रदेशका मुख्यमन्त्री राजेन्द्र राई, सामाजिक विकास मन्त्री राजन राई, राज्यमन्त्री विष्णु तुम्बाहाम्फे लगायतले नगद, शिल्ड र प्रमाणपत्र दिएका थिए ।
सोलुखुम्बुको नेचासल्यान गाउँपालिका–४ मा रहेको केदार मावि, ओखलढुंगाको मोलुङ गाउँपालिका–२ मा रहेको बरुणेश्वर मावि, खोटाङको जनजागृति मावि र उदयपुरको चौदण्डीगढी नगरपालिका–९ मा रहेको जनता मावि,मोरङबाट विराटनगर–३ मा रहेको पोखरीया मावि, ताप्लेजुङको फुङलिङ नगरपालिका–४ को भानुजन मावि, पाँचथरको फिदिम नगरपालिका–१ को फिदिम मावि, इलामको देउमाइ नगरपालिका–४ मा रहेको भानुभक्त मावि उत्कृष्ट विद्यालय घोषित भएका छन् ।
यसैगरी,सुनसरीको इटहरी उपमहानगरपालिका–९ मा रहेको जनता मावि, धनकुटाको सागुरीगढी गाउँपालिका–५ मा रहेको भानु मावि, तेह्रथुमको लालीगुराँस नगरपालिका–२ वसन्तपुरमा रहेको वसन्त मावि, भोजपुरको साल्पासिलिछो गाउँपालिका–१ मा रहेको वीरेन्द्र मावि, संखुवासभाको खाँदवारी नगरपालिका–९ मा रहेको मनकामना रत्न अम्बिका मावि, उत्कृष्ट विद्यालयमा सूचीकृत भएका सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
आधारभूत विद्यालयतर्फ मोरङको ग्रामथान गाउँपालिका–२ झोराहाटमा रहेको रवि आधारभूत विद्यालय उत्कृष्ट विद्यालयमा परेको छ । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिका–१ मा रहेको हिमालय आवि, पाँचथरको फाल्गुनन्द गाउँपालिका–२ मा रहेको त्रिभुवन आवि, इलामको सूर्याेदय नगरपालिका–११ मा रहेको भवानी आवि, झापाको हल्दीवारीमा गाउँपालिका–३ मा रहेको गरमकाली आवि उत्कृष्ट भएका छन् ।
सुनसरीको बराहक्षेत्र नगरपालिका–२ मा रहेको जलदेवी आवि, धनकुटाको चौबिसे गाउँपालिका–३ मा रहेको जनकल्याण आवि, तेह्रथुमको म्याङ्लुङ नगरपालिका–६ मा रहेको सरस्वती आवि, भोजपुरको भोजपुर नगरपालिका–७ मा रहेको जनसेवा आवि, संखुवासभाको खाँदवारी नगरपालिका–३ मा रहेको लक्ष्मी आवि, सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–४ मा रहेको वासुकी आवि, खोटाङको दिरुम नगरपालिका–१० मा रहेको जाल्पा आवि र उदयपुरको त्रियुगा नगरपालिका–१३ मा रहेको जनप्रेमी आवि स्कूल उत्कृष्ट विद्यालयमा परेका छन् । (फोटो सामाजिक सञ्जाल)

