मेगा बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकबीच मर्जर समझदारी,चुक्ता पुंजी झन्डै तेत्तीस अर्ब पुग्ने
काठमाडौं।दुई वाणिज्य बैंकहरु मर्जरमा जाने समझदारीपत्रमा हस्ताक्षर भएको छ।

मेगा बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकबीच शुक्रवार मर्जरमा जाने समझदारी भएको हो। समझदारी पत्रमा इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडे र मेगा बैंकका अध्यक्ष भोजबहादुर शाहले हस्ताक्षर गरे ।
मेगा बैंकका अध्यक्ष शाहले दुई बैंकबीच मर्जरमा जाने समझदारी भएको जानकारी दिए। उनका अनुसार नाम, स्वाप रेसियो, बोर्ड डिरेक्टर, सीईओ, वरिष्ठ डेपुटी सीईओमा टुंगो लागेको छ।
यसअनुसार बैंकको नाम नेपाल इन्भेष्टमेन्ट मेगा बैंक रहने समझदारी भएको छ। त्यस्तै ९०ः१०० को स्वाप रेसियो हुने उनले जानकारी दिए। मर्जपछि बन्ने बैंकमा दुवै बैंकका तर्फबाट ३÷३ जना बोर्ड डाइरेक्टर रहनेछन्। त्यसमा एक जना स्वतन्त्र डाइरेक्टर एनआईबीएलले नियुक्त गर्नेछ।
त्यस्तै बैंकको प्रमुख कार्यकारी अधिकृतमा ज्योति पाण्डे रहनेछन् भने वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतमा रबिना देशराज श्रेष्ठ रहनेछिन् ।बैंकको अध्यक्षमा भने पृथ्वीबहादुर पाँडे रहने भएका छन्।
चुक्ता पुँजी झण्डै ३३ अर्ब पुग्ने दुई बैंक मर्जरपछि बन्ने बैंकको चुक्ता पुँजी ३२ अर्ब ८० करोड हुनेछ। हाल नेपाल इन्भेष्टमेन्ट बैंकको १८ अर्ब ३० करोड र मेगा बैंकको १६ अर्ब १२ करोड छ।

