ट्रक अनियंत्रित भइ पल्टिँदा किचिर एक प्रहरी जवानको मृत्यु

काठमाडौं।पूर्व–पश्चिम राजमार्ग अन्तरगत शमशेरगन्जबाट नेपालगगन्जतर्फ जाँदै गरेको ट्रक अनियन्त्रित भई ट्रक पल्टिँदा एक प्रहरी जवानको घटनास्थलमै मृत्यु भएको छ ।

ना ३ ख ६४३६ नम्बरको ट्रकले ठक्कर दिँदा कोहलपुर चौराहमा ड्यूटीमा रहेकी प्रहरी जवान कविता बुढाथोकीको घटनास्थलमै मृत्यु भएको हो ।उनी ठाकुरबाबा नगरपालिका ७, बर्दियाकी बुढाथोकी इलाका प्रहरी कार्यालय कोहलपुरमा कार्यरत थिइन् ।
ट्रक अनियन्त्रित भई पल्टिँदा बुढाथोकी च्यापिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक हिमालय शाहले जानकारी दिए । रातको करिब १० बजेको समयमा भएको दुर्घटनामा प्रहरी जवान बुढाथोकीको भे ८ ब ४०६८ नम्बरको स्कुटी र भे १० प ४६२४ नम्बरको स्कुटी समेत पूर्ण रुपमा क्षति भएको उनले बताए ।
ट्रक चालक बबई गाउँपालिका ६, दाङका लोकराज केसीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । चालक केसीसँग हलुका सवारी चालक अनुमति मात्र भएको शाहले बताए ।

