प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा
काठमाडौं,२३ भदौ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९ बजेसम्म दुवै कोषमा गरी ११ अर्ब ७७ करोड ६७ लाख ५० हजार २६१ रुपैयाँ जम्मा भएको हो ।
हाल नौ वटा वाणिज्य बैंकमा कोषको ८ अर्ब ५९ करोड १९ लाख ४ हजार २२३ रुपैयाँ मौज्दात रहेको कार्यालयले जनाएको छ ।
कोषमा जम्मा भएको रकममध्ये यसअघि एक अर्ब रुपैयाँ रसुवा बाढीपीडितका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको नाममा निकासा भइसकेको छ ।
यसैगरी, हिमालयन बैंक र लक्ष्मी सनराइज बैंकमा रहेको अमेरिकी डलर खातामा २ करोड ११ लाख ८ हजार ४७१ रुपैयाँ जम्मा भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।
विपद्बाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि विभिन्न व्यक्ति, संस्था तथा निकायबाट कोषमा सहयोग रकम जम्मा हुँदै आएको छ ।

