संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची



काठमाडौं,२४ भदौ । सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । अपराह्न १ बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभा बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्ने कार्यसूची छ ।

यस्तै, बैठकमा कानुनमन्त्री गौतमले नै ‘मेलमिलापसम्बन्धी (दोस्रो संशोधन ) विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछिन् ।

यसैगरी, कानुनमन्त्री गौतमले ‘एसियाली विधायिकी संस्थाहरूको परिषद्को सदस्यता प्राप्त गर्नेसम्बन्धी प्रस्ताव’ सभासमक्ष पेस गर्ने सम्भावित कार्यसूची रहेको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।

अपराह्न १:१५ बजे बस्ने राष्ट्रियसभाको बैठकमा ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साबिकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक, २०८३ सम्बन्धी समितिको प्रतिवेदन पेस हुनेछ । विधायन व्यवस्थापन समितिका सभापति कृष्णबहादुर रोकायाले प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूची छ ।

यस्तै, बैठकमा राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएकोसम्बन्धी पत्रको ब्यहोरा जानकारी गराउनेछन् ।

यसैबीच, आज अर्थ समिति र उद्योग, वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्दैछ ।

प्रतिक्रिया दिनुहोस्