नागरिक आक्रोशलाई राष्ट्र निर्माणको शक्तिमा रूपान्तरण गर्न सबै पक्ष एकताबद्ध हुनुपर्नेमा लामिछानेको जोड



काठमाडौं,२३ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जेन्जी आन्दोलन कुनै राजनीतिक दल विशेषको आह्वानमा नभई भ्रष्टाचार, कुशासन, अवसरविहीनता र नागरिक अधिकारमाथिको नियन्त्रणविरुद्ध युवापुस्ताबाट भएको स्वस्फूर्त जागरण भएको बताएका छन्।जेन्जी आन्दोलन भएको एक वर्ष पूरा भएको अवसरमा जारी सन्देशमार्फत लामिछानेले आन्दोलनलाई कुनै राजनीतिक दल वा नेताले आफ्नो सङ्कुचित राजनीतिक स्वार्थ पूरा गर्ने औजार बनाउन नहुने बताएका हुन्।

वर्षौंदेखि जरा गाडेर बसेको भ्रष्टाचार, दलीय भागबन्डा, संस्थागत अक्षमता तथा अवसरविहीनताका कारण उत्पन्न निराशाविरुद्ध सचेत युवा पुस्ता शान्तिपूर्ण तर दृढ सङ्कल्पका साथ सडकमा उत्रिएको उनको भनाइ छ।
आन्दोलनका क्रममा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै लामिछानेले परिवर्तनका लागि अब कुनै पनि आमाको काख रित्तिन नपरोस् भन्ने कामना गरेका छन्। नागरिक अधिकार, विधिको शासन र भ्रष्टाचारमुक्त समाजको माग गर्दै आवाज उठाउने क्रममा ज्यान गुमाएका व्यक्तिप्रति उनले श्रद्धाञ्जली अर्पण गरेका छन्।

कर्तव्य पालनका क्रममा ज्यान गुमाएका प्रहरीप्रति पनि श्रद्धाञ्जली व्यक्त गर्दै उनले आन्दोलनका क्रममा अङ्गभङ्ग भएका, घाइते भएका तथा मानसिक र शारीरिक चोट भोगिरहेका व्यक्तिहरूको उपचार र दीर्घकालीन पुनर्स्थापनाको दायित्व राज्यले पूरा गर्नुपर्ने बताएका छन्।“राजनीतिमा खासै चासो राख्दैन भनिएको युवा पुस्ता जब शान्तिपूर्ण रूपमा सडकमा उत्रियो, त्यो परम्परागत राजनीतिक शैलीप्रतिको स्पष्ट अस्वीकृति थियो,” लामिछानेले भनेका छन्।

उनले जेन्जी पुस्ता डिजिटल युगमा हुर्किएको, विश्वव्यापी चेतना बोकेको, स्वाभिमानी र आफ्नै देशभित्र भविष्य खोज्ने पुस्ता भएको उल्लेख गर्दै युवापुस्तालाई अब कुशासन स्वीकार्य नभएको बताए।

लामिछानेले आन्दोलनले उठाएका प्रश्नको जवाफ दिने जिम्मेवारी अहिले राजनीतिक नेतृत्वमाथि आएको पनि उल्लेख गरेका छन्। “हिजो सडकबाट नवयुवाहरूले सोधेका हरेक प्रश्नको जवाफ दिने ठाउँमा समयले आज हामीलाई उभ्याएको छ,” उनले भनेका छन्, “हामीसँग पनि जवाफ माग्न भोलि फेरि कोही उभिनेछ भन्ने कुरा बिर्सनु हुँदैन।”

उनले युवा, नागरिक समाज तथा आम नागरिकलाई सरकार र राजनीतिक नेतृत्वको कार्यसम्पादनमाथि निरन्तर रचनात्मक खबरदारी गर्न आग्रह गरेका छन्। तर, आम नागरिकमा निराशाको भाष्य स्थापित हुन नदिनसमेत उनले अपिल गरेका छन्।

नागरिक आक्रोशलाई राष्ट्र निर्माणको शक्तिमा रूपान्तरण गर्न सबै पक्ष एकताबद्ध हुनुपर्नेमा जोड दिँदै लामिछानेले जागरणको आन्दोलनले देखाएको विधिको शासन,समतामूलक समृद्धि र राष्ट्रिय स्वाभिमानको मार्गबाट विचलित नहुने दृढ सङ्कल्प व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस्