‘खल्ती इन्फ्लुएन्सर अवार्ड्स’को १० विधामा मनोनयन सूची सार्वजनिक



काठमाडौं,२४ भदौ । नेपालमा पहिलो पटक सामाजिक सञ्जालका सामग्री सिर्जनाकर्तालाई लक्षित गरी आयोजना हुन लागेको ‘खल्ती इन्फ्लुएन्सर अवार्ड्स’को मनोनयन सूची सार्वजनिक गरिएको छ।

स्पर्श मिडिया एण्ड इन्टरटेन्मेन्ट प्रालिको आयोजनामा आगामी असोज १२ गते सोमबार ललितपुरको ग्वार्कोस्थित होटल रोयल टुलिपमा आयोजना हुने अवार्डका लागि विभिन्न १० विधामा उत्कृष्ट सामग्री सिर्जनाकर्ताहरू मनोनयनमा परेका हुन्।

नेपालका डिजिटल सामग्री सिर्जनाकर्ताको सिर्जनशीलता, प्रभाव र योगदानलाई सम्मान तथा प्रोत्साहन गर्ने उद्देश्यले अवार्ड आयोजना गरिएको आयोजकले जनाएको छ। आयोजक संस्थाका निर्देशक सुरज गराचका अनुसार नेपालमै पहिलो पटक सामग्री सिर्जनाकर्तालाई केन्द्रमा राखेर यस्तो प्रकृतिको अवार्ड आयोजना गर्न लागिएको हो।

‘सिर्जना गरौं, प्रेरित गरौं र प्रभाव पारौं’ भन्ने नारासहित आयोजना हुन लागेको अवार्डका लागि करिब तीन महिनासम्म आवेदन खुला गरिएको थियो। अवार्ड समारोहका सिर्जनात्मक प्रमुख विक्रमादित्य शाहका अनुसार देशभरबाट करिब २ हजार २ सयभन्दा बढी सामग्री सिर्जनाकर्ताले प्रतिस्पर्धामा सहभागिता जनाउँदै आफ्ना सामग्री उपलब्ध गराएका थिए।

तीमध्येबाट १ सय २२ वटा उत्कृष्ट सामग्री छनोट गरी निर्णायकसमक्ष प्रस्तुत गरिएको आयोजकले जनाएको छ। निर्णायकहरूको मूल्यांकनपछि विभिन्न विधामा उत्कृष्ट सामग्री सिर्जनाकर्ताको मनोनयन सूची तयार पारिएको हो।

अवार्ड समारोहमा १० विधामा पुरस्कार प्रदान गरिने आयोजक संस्थाका जनसम्पर्क अधिकृत राजु जंग बस्नेतले जानकारी दिए। प्रतियोगिताको मूल्यांकनका लागि कोरियोग्राफर तथा अभिनेता प्रशान्त ताम्राकार, आईएमई समूहका बद्री कटवाल, मिस युनिभर्स नेपाल २०२२ सोफिया भुजेल तथा पत्रकार टेकनारायण भट्टराई निर्णायक रहेका छन्।

आयोजकका अनुसार मनोनयनमा पर्न सफल प्रत्येक सामग्री सिर्जनाकर्ताले अब आफ्नो विधाअनुसार विशेष सामग्री तयार गर्नुपर्नेछ। त्यसपछि निर्णायकको मूल्यांकन र सर्वसाधारणको मतका आधारमा प्रत्येक विधाबाट एक जना विजेता चयन गरिनेछ।

नेपालमा सामाजिक सञ्जालको प्रभाव तीव्र रूपमा विस्तार भइरहेका बेला सामग्री सिर्जनाकर्ताको मेहनत, सिर्जनशीलता र प्रभावलाई औपचारिक रूपमा सम्मान गर्ने उद्देश्यले अवार्ड आयोजना गरिएको हो। यसले नयाँ प्रतिभालाई राष्ट्रिय स्तरमा आफ्नो क्षमता प्रस्तुत गर्ने अवसर प्रदान गर्नुका साथै डिजिटल सामग्री सिर्जनाको क्षेत्रमा नयाँ पुस्तालाई थप प्रेरित गर्ने आयोजकको विश्वास छ।

यसैबीच, देशमा आएको बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित परिवारप्रति ऐक्यबद्धता जनाउँदै अवार्ड आयोजक संस्था स्पर्श मिडिया एण्ड इन्टरटेन्मेन्ट प्रालिले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ हजार रुपैयाँ सहयोग प्रदान गरेको छ।

संस्थाका निर्देशक सुरज गराचले विपद्को समयमा गरिएको सानो सहयोगले पनि ठूलो अर्थ राख्ने विश्वास व्यक्त गरे। अवार्डको अवसर पारेर सुरज गराच (यसराज), विक्रमादित्य शाह तथा राजु जंग बस्नेतले संयुक्त रूपमा उक्त रकम सहयोग गरेका हुन्।

यी हुन् १० विधाका मनोनयन :

शिक्षा तथा वित्त

रोनित श्रेष्ठ, हिमांशु पोखरेल, शुभम चापागाईं, सुरज तिमिल्सिना, रबिन पौडेल, दीपेश शाही ठकुरी, पोषण भण्डारी, प्रशिका थापा, शर्मिला लामा र नवीन तिमल्सेना।

मनोरञ्जन

सम्राट अधिकारी, सन्दीप सुनार, सन्देश तामाङ, राजेश बोगटी, दिलीप ओखेडा, विवेक पाण्डे, लक्ष्मी ओली, आभाष निरौला, जुलिया मोक्तान र दीपेश कुमार शर्मा।

फेसन तथा सौन्दर्य

योगेश शर्मा, अदिती अधिकारी, सुष्मिता भुसाल, रोहिशा पुरी, असिम रानाभाट, रोसा मारिया लामा र तेजल थापा।

स्वास्थ्य तथा शारीरिक तन्दुरुस्ती

नेपाली फिट ड्यूड, तेज गिरी, जिम कपन, सुदीप विष्ट र प्रिया बराल।

खाना तथा परिकार

सोनी गुरुङ, मनिषा थापा, सुशान्त आचार्य, अभिनव जोशी, ऋचा श्रेष्ठ र सुशील कँडेल।

खेल सामग्री

विष्णु भण्डारी, आयुष महत, ब्रोक्जी र हेक्सल।

जीवनशैली

रियाना श्रेष्ठ, जेनिशा तिमल्सिना, अश्मी अमात्य, आयुष श्रेष्ठ, महफूज आलम, सुबेक्षा पोखरेल, अंकित श्रेष्ठ, अञ्जिला रजक, सुमित कुमार ओली र क्रिन्जल कार्की।

खेलकुद

सुजीत थापा र उज्वल प्रजापति।

प्रविधि

ऋषभ गौतम, निशान्त श्रेष्ठ, उमेश कुमार थापा, हेमप्रसाद भट्टराई र मिशन अधिकारी।

यात्रा
प्रशान्त सिंह ठकुरी

प्रतिक्रिया दिनुहोस्