वैशाख १ गतेदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सन्चालनमा आउने




काठमाडौं।सँस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आगामी १ वैशाखदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल शुभारम्भ गरिने बताएका छन् ।

विमानस्थलको निरीक्षण गर्न शनिबार भैरहवा पुगेका मन्त्री आलेले विमानस्थलमा क्यालिब्रेसन फ्लाइट सम्पन्न भइसकेपछि नेपाल एयरलाइन्सको ध्वजाबाहक विमान वाइडवडीबाट परीक्षण उडान गरिने जानकारी दिए । उनले यान्त्रिक परीक्षण उडानको मिति १५ फागुनका लागि तोकिएको भए पनि त्यसअघि नै गर्न पाउँदा खुशी लागेको बताए ।

१५ फागुनसम्म यान्त्रिक परीक्षण उडान हुने र त्यसको रिपोर्ट आइसकेपछि १ वैशाखदेखि नयाँ विमानस्थलको रुपमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल शुभारम्भ गरिने मन्त्री आलेको भनाइ छ ।

अब बुद्ध जयन्तीमा विभिन्न देशका बौद्ध धर्मावलम्बीहरू गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सोझै आउने बताउंदै उनले दोस्रो चरणअन्तर्गत बन्ने दोस्रो टर्मिनल भवनका लागि छिटै टेण्डर प्रक्रिया अगाडि बढ्ने जानकारी दिए ।

लुम्बिनी विकास गुरुयोजनाको काम १९ प्रतिशत रहेको र बाँकी रहेका काम सम्पन्न गर्न अर्थ मन्त्रालयबाट बजेट सुनिश्चित गरेर अगाडि बढाउने मन्त्री आलेको भनाइ छ । अब छिटै गुरुयोजनाका बाँकी काम सम्पन्न गरिने पनि उनले बताए ।

प्रतिक्रिया दिनुहोस्