सोलुखुम्बु : पत्रकारलाई तालिम दिन संचारगृहमै पुग्यो प्रहरी



सोलुखुम्बु।सोलुखुम्बुमा कार्यरत क्रियाशील पत्रकारहरूलाई जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले आत्मरक्षा तालिम दिन थालेको छ ।

पत्रकारहरुले समाचार सङ्कलनका क्रममा सामना गर्नुपर्ने असुरक्षालाई मध्यनजर गर्दै प्रहरी नायब उपरीक्षक (डीएसपी) कवित कट्वालसहितको टोलीले सञ्चार गृहमै पुगेर पत्रकारहरूलाई तालिम दिन सुरु गरेको हो ।

सदरमुकाममा सञ्चालित सोलु एफएमबाट सुरु भएको तालिम अन्य सञ्चार गृहहरूमा पनि सञ्चालन गरिने जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । समाजमा भएका गलत कामहरूलाई बाहिर ल्याउने क्रममा विभिन्न चुनौतीको समना गर्नुपर्ने भएकाले पत्रकारहरूलाई आत्मरक्षा तालिम आवश्यक रहेको डीएसपी कट्वालले बताउनुभयो । समाचार सङ्कलनका क्रममा कसैले भौतिक आक्रमण गरे कसरी बच्ने, सङ्कलन गरिएका समाचार सामग्रीहरूको संरक्षण कसरी गर्ने लगायतका सीपहरू तालिममा प्रदान गरिएको जानकारी समेत वहाँले दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्