मस्तिष्कघातका कारण डडेल्धुरा जिल्ला समन्वय समिति प्रमुख भट्टको निधन



जिल्ला समन्वय समिति डडेल्धुराका प्रमुख गणेशराज भट्टको निधन भएको छ ।

 

उनको सोमवार काठमाडौंको अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

 

एक्कासि बेहोस भएपछि ५० वर्षीय भट्टलाई गत मंसिर २८ गते उपचारका लागि काठमाडौं लगिएको नेपाली कांग्रेस डडेल्धुराले जनाएको छ ।

उनलाई उपचारका लागि अन्नपूर्ण अस्पताल भर्ना गरिएको थियो । भट्टलाई मस्तिष्कघात भएको बताइएको छ ।

 

भट्ट नेपाली कांग्रेसबाट जिसस प्रमुखमा निर्वाचित भएको थिए । उनी पाटन क्याम्पसमा अध्ययनरत रहँदा नेपाल विद्यार्थी संघमा आवद्ध भएका थिए ।

भट्ट नेपाल तरुण दलको केन्द्रीय सचिव, कांग्रेस डडेल्धुराको क्षेत्रीय सभापति र नेपाल बार एसोसिएशन डडेल्धुराको अध्यक्ष समेत रहेका थिए ।

विक्रम संवत् २०६२र६३ को आन्दोलनका क्रममा उनले ३ महिना जेल जीवन बिताएका थिए । भट्टको मंगलवार पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जानकारी दिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्