महाकुलुङ हेलिप्याड काण्ड : आफू पनि पीडित भएको यमुनाथको गुनासो
सोलुखुम्बु। महाकुलुङ गाउँपालिका वडा नं। ५ चाचालुङको हेलिप्याड काण्डमा आफू पनि पीडित भएको एक स्थानीयवासीले गुनासो गरेका छन् ।

वडा अध्यक्ष सञ्चराम राईले सरकारी पैसाबाट किनिएको जग्गा आफ्नै नाममा पास गरेर दुरुपयोग गरेका सम्बन्धी समाचार रहस्य खबरमा सार्वजनिक भएपछि गुंदेल माविका शिक्षकसमेत रहेका यमुनाथ राईले यसमा आफू पनि पीडित भएको गुनासो गरेका हुन् । समाचार प्रकाशित भएपछि सुरुमा उनले फेसबुकमा स्टाटस लेख्दै हेलिप्याड निर्माण गर्दा आफ्नो जग्गा पनि परेको र यसको मूल्य आफूले भने नपाएको उल्लेख गरेका थिए।
त्यसपछि रहस्य खबरसँगको कुराकानीमा उनले सुरुमा तत्कालीन उपभोक्ता समितिले मौखिक रुपमा बुदुम खोला लघु जलविद्युत आयोजनाको सामाग्री ढुवानी गर्न हेलिप्याड निर्माण गर्ने भनेर भनेको तर, आफूहरुसँग कुनै लिखित सम्झौता नगरेको उनको भनाइ छ । अहिले हेलिप्याड बनाइएको र वडाध्यक्ष सञ्चराम राईले घर बनाएसंगैको जग्गा आफ्नो पनि भएको बताउंदै उनले आफूले हेलिप्याड भत्काउन पनि नसक्ने र जग्गाको मूल्य पनि नपाउँदा पीडामा परेको बताए ।
उनले गाउँको विकासका लागि आफूले जग्गा दिएको र हालसम्म यस विषयमा नबोलेको उल्लेख गर्दै अर्का जग्गाधनी हेमचक्र राईले भने रकम बुझेको बताए । वडाध्यक्ष सञ्चरामले जग्गाधनी हेमचक्रलाई पैसा दिएर आफ्नो नाममा पास गरेको आफूले सुनेका भए पनि तत्कालीन गाबिसले हालेको पैसा के मा खर्च भएको भन्ने बारेमा आफूलाई खासै जानकारी नभएको उनको भनाइ छ । शिक्षक राईले वडाध्यक्ष राईले आफ्नो पहिलेको घर हुँदाहुँदै पुनर्निर्माण प्राधिकरणबाट अनुदानको रकम लिएर हेलिप्याड भएको जग्गामा घर बनाएको भने सत्य भएको स्वीकार गरेका छन् । उक्त कुरा कानुनी रुपमा गलत हुने भन्दै यस विषयमा सम्बन्धित निकायले छानबिन गरेर निष्कर्ष निकाल्ने उनको अपेक्षा छ ।
शिक्षक राईले रहस्य खबरको समाचारमा कमेन्ट गर्दै समाचार लेख्ने, उजुरी दिने र अन्य पक्षलाई समेत ‘एक चिहान’ बनाइदिने धम्की दिएका थिए । यो भने आफूबाट गल्ती भएको भन्दै उनले माफीसमेत मागेका छन् । उक्त विषयमा राजनीतिकरण भएर विकासको काममा अवरोध भएकाले आफू आक्रोशमा आई त्यस्तो कमेन्ट गरेको भन्दै उनले यसप्रति भने माफी मागेका हुन् । उनले हाल उक्त स्टाटससमेत फेसबुकबाट डिलिट गरेका छन् ।
शिक्षक राईले विकासमा कुनै पनि दलले राजनीतिकरण गर्न नहुने भन्दै बुदुम खोला जलविद्युत आयोजना सम्बन्धी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको उजुरीकै कारण थप अनुदान १४ लाख र यस वर्ष वडा र गाउँपालिकाले छुट्याएको १६ लाख रकम फ्रिज हुने आफूले सुनेको भन्दै त्यसो हुँदा गाउँको विकासमा असर पर्ने दुखेसो पोखे ।
तत्कालीन गुदेल गाउँ विकास समितिले दिएको अनुदान रकम रु १ लाखबाट सोही वडास्थित चाचालुङमा खरिद गरिएको जग्गा वडाध्यक्ष व्यक्तिगत नाममा पास गरी त्यसमा सरकारी पैसाबाटै घर निर्माण गरेका छन् । तत्कालीन सर्वदलीय संयन्त्रका एक सदस्यले गाउँपरिषदबाटै हेलिप्याडका लागि जग्गा खरिद गर्न १ लाख रुपैयाँ विनियोजन गरिएको बताएका छन् । उक्त रकम लिएर खरिद गरिएको जग्गा वडाध्यक्ष राईले व्यक्तिगत नाममा पास गरी दुरुपयोग गरेको उनको दाबी छ ।
वडाध्यक्ष राईले सरकारी पैसाबाट खरिद गरिएको जग्गा व्यक्तिगत नाममा पास गरेर मात्र होइन, ०७२ सालको भूकम्पले क्षति घरमा नपुर्याएको अवस्थामा पनि पूर्ण रुपमा क्षति पुर्याएको गलत विवरण पेस गरी अनुदान रकम लिएर त्यही जग्गामा घर बनाएका छन् । उक्त विषयमा निष्पक्ष छानबिन गरी कानुनी कारबाहीको दायरामा ल्याउनुपर्ने स्थानीयबासीको माग छ ।

