कृषिको ब्यबसायीकरणतर्फ सबैको ध्यान जानुपर्ने अध्यक्ष बास्तोलाको भनाई

सोलुखुम्बु। नेचासल्यान गाउँपालिकाका अध्यक्ष डुफकुमार बास्तोलाले कृषकहरूले उत्पादन गरेको कृषि सामाग्रीको बजार प्रबर्द्धनका लागि सहजीकरण गर्न गाउँपालिका तयार रहेको बताएका छन् ।

गाउँपालिकाद्वारा आयोजित कृषि तथा औद्योगिक मेला प्रदर्शनीको बुढा उद्घाटन गर्दै अध्यक्ष बास्तोलाले सो कुरा बताएका हुन् ।कृषकहरुलाई प्रतिस्पर्धात्मक उत्पादनका लागि प्रोत्साहित गर्न सकियोस् भन्ने उद्देश्यले बिगत चार बर्ष देखि गाउँपालिकाले कृषि तथा औद्योगिक प्रदर्शनीलाई निरन्तरता दिएको बताउंदै उनले कृषिलाई व्यवसायीकरण गर्ने तर्फ सबैको ध्यान जानुपर्ने बताए ।
प्रदर्शनीमा ४३३ जना कृषक तथा उद्योगीले आआफ्नो उत्पादन सहित सहभागिता जनाएका थिए। प्रदर्शनीमा प्रथम, द्धितीय र तृतीय हुनेलाई क्रमश ३ हजार, २ हजार र १ हजार पुरस्कार प्रदान गरिएको थियो । विभिन्न ११ वटा विधामध्ये ११ जना प्रथम, ११ जना द्धितीय र १८ जनाले तृतीय पुरस्कार हात प्राप्त गरेका छन् । प्रतियोगितामा सहभागिलाई यातायत खर्च बापत ५ सय रुपैयाँ प्रदान गरिएको गाउँपालिकाले जनाएको छ।
गाउँपालिकाका प्रवक्ता तथा नेचासल्यान ३ का वडाअध्यक्ष धर्मध्वज खत्रीको सभापतित्वमा सम्पन्न उद्घाटन कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शालिकराम बस्याल, वडाध्यक्षहरु रमेशकुमार राई, भेषकुमार बासतोला, नेपाली कांग्रेसका गाउँ पार्टी सचिव दुर्योधन राई, नेकपा माओवादी केन्द्रका गाउँ पार्टी अध्यक्ष सीताराम भट्टराई र राप्रपा नेता ठगेन्द्रकुमार कटेल लगायतले आफ्नो विचार व्यक्त गरेका थिए ।

