ओमिक्रोनलाई नेपाल भित्रिन नदिन सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह
काठमाडौं।उच्च संक्रामक मानिएको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ विभिन्न देशमा फैलिँदै गएकाले अत्यावश्यक कामबाहेक विदेश नजान सरकारले आग्रह गरेको छ । स्वास्थ्य मन्त्रालयले बुधबार विज्ञप्ति जारी गरी ओमिक्रोनलाई नेपाल भित्रिन नदिन समयमै सावधानी अपनाउन आग्रह गरेको हो ।

‘हालसम्म संक्रमण देखिएका मुलुकहरूमा सकेसम्म भ्रमण नगर्न आग्रह मात्रै गरेका हौँ । नेपाल भित्रिनेलाई पनि अनिवार्य परीक्षण र क्वारेन्टिनको व्यवस्था गरिएको छ । तर, आवतजावतमा प्रतिबन्ध नै लगाउनेबारे भने हालसम्म निर्णय भएको छैन,’ मन्त्रालयका सहप्रवक्ता डा। समीरकुमार अधिकारीले बताए ।
दक्षिण अफ्रिकी मुलुक बोत्सवानामा पहिलोपटक पुष्टि भएको ओमिक्रोन आठ दिनमा विश्वका २० देशमा फैलिसकेको छ । यसले जुनसुकै उमेर समूहका व्यक्तिलाई असर गर्ने विज्ञहरूले बताउँदै आएका छन् । विश्वभर जोखिम बढ्दै गएकाले सकेसम्म विदेश यात्रामा ननिस्किन मन्त्रालयले भनेको छ ।
नेपालमा हालसम्म ओमिक्रोनका संक्रमितहरू नभेटिएको पनि मन्त्रालयले जनाएको छ । संक्रमण फैलन नदिन दैनिक ‘जिन सिक्वेन्सिङ’ भइरहेको र नमुनाहरू परीक्षणका लागि विदेश पठाएको बताउँछिन् राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा। रुना झा । ‘जिन सिक्वेन्सिङका लागि नमुनाहरू बाहिर पठाइरहेका छौँ । नाका र एयरपोर्टबाट संकलित नमुनाहरू नियमित परीक्षण भइरहेका छन् । संक्रमण देखिहालेमा फैलिन नदिन उच्च सतर्कता अपनाइएको छ,’ उनले भनिन् । जिन सिक्वेन्सिङका लागि ७ मंसिरमा विदेश पठाएको नमुनाको नतिजा आउन बाँकी छ ।

