श्रीमदभागवत महायज्ञबाट श्री जालपा आविद्वारा करिब आठ लाख सहयोग संकलन
सोलुखुम्बु ।जिल्लाको नेचासल्यानस्थित श्री जालपा आधारभूत विद्यालयले स्वर्गीय दाताहरुको सम्झना तथा ICT सहयोगार्थ कार्तिक ९ गते देखि १५ गतेसम्म आयोजना गरेको श्रीमदभागवत महायज्ञबाट करिब आठ लाख सहयोग संकलन भएको जनाएको छ।

विद्यालयमा आयोजित महायज्ञको समिक्षा तथा सम्मानका लागि आयोजित कार्यक्रममा सोमबार प्रधानाध्यापक रोहित प्रसाद बास्तोलाले सो जानकारी गराएका हुन्। विद्यालयलाई प्राप्त भएको सो रकममध्येबाट करिब तीन लाख रुपयाँ खर्च भएको जानकारी समेत उनले दिए।
सो कार्यक्रममा विद्यालय स्थापना देखि हालसम्म सहयोग पुर्याउने सहयोगीमध्येबाट चार क्षेत्रका चार जना व्यक्तिलाई सम्मान गरिएको विद्यालयले जनाएको छ । सम्मानित हुनेमा शिक्षकहरु मध्यबाट पुर्व शिक्षक कुमारीदेवी घिमिरे, विद्यालय व्यबस्थापन समिति अध्यक्षहरु मध्ये मणिकुमार राई, विद्यालय व्यबस्थापन समिति सदस्यहरु मध्येबाट शुक्र किराँती र पुर्व विद्यार्थीहरुमध्ये सुरेशबाबु जमरकट्टेल छन् । उनीहरूलाई चाँदीको थालि तथा सम्मान पत्रले सम्मान गरिएको छ।
कार्यक्रममा पुराणवाचक पण्डित टंक ढुङ्गाना, पुराणको अभिभावकत्व ग्रहण गर्ने पुर्व माननीय भुपाल किराँती, विश्व हिन्दु महासंघ केन्द्रिय सदस्य ठगेन्द्र कुमार जमरकट्टेल, राष्ट्र तपश्वि रामबाबा श्री फडिन्द्रप्रसाद बास्तोला तथा पुराण आयोजक समितिका सबै सदस्यलाई कदर पत्र वितरण गरिएको विद्यालयले जनाएको छ।
नेचासल्यान गाँउपालिका उपाध्यक्ष कुमारीदेवि घिमिरेको प्रमुख आतिथ्यता तथा विद्यालय व्यबस्थापन समिति अध्यक्ष युवराज राईको सभापतित्वमा सञ्चालित कार्यक्रममा नेचासल्यान गाउँपालिका शिक्षा शाखा प्रमुख नारायणगोपाल ढकाल, फुर्के गुठीका अध्यक्ष हर्कराज राई, पाँच कन्या सामुदायिक सस्थाका अध्यक्ष चक्र प्रसाद कट्टेल, बास्तोला सेवा समाजका अध्यक्ष विन्दलाल बास्तोला, भण्डारी बन्धु समाजका अध्यक्ष लगायतको उपस्थिति रहेको थियो।

