चाडपर्वमा हुने लुटपाट नियन्त्रणमा प्रहरीको सक्रियता, उपत्यकाबाट २०७ जना पाकेटमार पक्राउ

काठमाडौँ।महानगरीय प्रहरी परिसर काठमाडौँले चाडपर्वमा हुनसक्ने चोरी र पाकेटमारको विरुद्ध चलाएको अभियानका क्रममा उपत्यकाका विभिन्न स्थानबाट २०७ जनालाई पक्राउ गरेको छ।

महानगरीय प्रहरी परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंहले नजिकिँदो चाडपर्वमा हुने लुटपाट र चोरीका घटना कमी गर्न भदौ २५ देखि असोज १५ गतेसम्म चलाएको अभियानमा उनीहरुलाई पक्राउ गरिएको जानकारी दिए ।
। परिसरले सोमबार पत्रकार सम्मेलन गरी सार्वजनिक यातायात, सपिङ मल र मुख्य बजारमा चलाएको अभियानमा चोरी र पाकेटमार कार्यमा सङ्लग्नलाई सार्वजनिक गरेको हो ।
सिंहका अनुसार यातायात व्यवसायीको सहकार्यमा सादा पोसाकका कर्मचारीलाई सवारी साधनमा यात्रा गराई चलाइएको अभियानमा पाकेटमारले नगद, मोबाइल, गरगहना चोर्दाचोर्दै पक्राउ गरिएको हो ।
सार्वजनिक बसमा दुई/दुई जनाका दरले ६ जनासम्मको समूह बनाएर बसभित्र छिर्ने र पैसा भएका यात्रु पत्ता लगाएर चार तीरबाट घेरा हालेर नगद, मोबाइल, गरगहना लुटपाट गर्ने गरेको अनुसन्धानमा पाइएको एसएसपी सिंहले बताए ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौलाले पाकेटमारको निगरानी राख्नका लागि यातायात व्यवसायीले सादा पोशाकका कर्मचारीलाई ६० पास उपलब्ध गराएको बताए ।
चोरी तथा पाकेटमारले सार्वजनिक सवारी साधनमा चढेपछि साङ्केतिक भाषाको प्रयोग गर्ने गरेको पाइएको छ । पक्राउ परेका २०७ जनामध्ये १६१ जनाको अनुसन्धान भइरहेको र ४६ जनाको अनुसन्धान पूरा गरी सरकारी वकिल कार्यालयमार्फत जिल्ला प्रशासन कार्यालय हुँदै कारागार पठाइएको परिसरले जनाएको छ ।
पाकेटमारी गर्दा एक अर्कामा उनीहरुले यस्ता सांकेतिक भाषा प्रयोग गर्ने गरेको प्रहरीले जनाएको छ-
पैसा – द ,
मोवाईल – कान,
पकेटमारी पिडित – रामे,
पकेटमारी गर्ने (मास्टर) – काशी,
पैसा धेरै छ – टानको द
पैसा थोरै छ जुटको द ,
गाडी -कांचा,
केटा – छापा,
केटी -भद्रि
पुलिस आयो ठल्दाई आयो , ड्राईभर – माम, खलासी- मले
गाडीवाट झरेर भाग- टप्की
गाडी भित्र अगाडी सर – अकल जा
गाडी भित्र पछाडी सर – चिछल जा

