सत्तासाझेदार दलका नेताहरुको बैठक आज बस्दै
काठमाडौं।मन्त्रालय भागबण्डाको विषयमा सहमति जुटाउन सत्ता साझेदार दलहरूको बैठक बोलाइएको छ । कुन दलले कति र कुन–कुन मन्त्रालय पाउने विषयमा छलफल गर्न आज प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता साझेदार दलका शीर्ष नेताहरूको बैठक बोलाइएको हो ।

बुधबार प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेट भएपछि शक्ति बाँडफाँटको विषयमा छलफल गर्न आज गठबन्धनको बैठक बस्न लागेको हो । बुधबार प्रचण्ड र ओलीबीचको छलफलमा शक्ति बाँडफाँटबारे प्रारम्भिक साझेदारी भएको बताइएको छ ।
दुई शीर्ष नेताबीचकौ भेटपछि आज शक्ति बाँडफाँटको विषयमा विस्तृत छलफल हुने प्रधानमन्त्री प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए । प्रचण्ड र ओलीबीचको प्रारम्भिक समझदारीअनुसार एमालेले चार र माओवादीले दुईवटा प्रदेशको मुख्यमन्त्री पाउने छन् ।
स्रोतका अनुसार एमालेले प्रदेश १, गण्डकी, बागमती र लुम्बिनी तथा माओवादीले सुदूरपश्चिम र कर्णालीको मुख्यमन्त्री पाउने समझदारी भएको हो । मधेसको मुख्यमन्त्रीमा जसपा र जनमत पार्टीको दाबी रहेकाले उनीहरूलाई आलोपालो गर्ने गरी समझदारीमा आउन प्रस्ताव गर्ने ओली र प्रचण्डको तयारी छ।

