एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणाली तथा विद्यालय लेखाङ्कन प्रणाली सम्बन्धी कार्यशाला सम्पन्न



खगिन्द्रराज बास्तोला, सोलुखुम्बु। खुम्बु पासाङल्हामु गाउँपालिकामा एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणाली (IEMIS) तथा विद्यालय लेखाङ्कन प्रणाली (SAS) सम्बन्धी ३ दिने कार्यशाला सम्पन्न भएको छ ।

खुम्बु पासाङल्हामु गाउँपालिकाको आयोजनामा सो कार्यशाला वैशाख २२ गतेदेखि २४ गतेसम्म चलेको थियोे । सो कार्याशाला विद्यालयमा सम्पादन हुने शैक्षिक, आर्थिक, भौतिक, प्रशासनिक गतिविधि लगायत आधुनिक प्रविधिको प्रयोग गरेर विद्यालयको लेखाङ्कन प्रणालीलाई व्यवस्थित र चुस्त दुरुस्त गराउने उद्देश्य अनुरुप आयोजना गरिएको पालिकाले जनाएको छ ।

खुम्बु पासाङल्हामु गाउँपालिकाभित्रका १७ ओटा सामूदायिक विद्यालयका प्रधानाध्यापक तथा कम्प्युटर शिक्षकहरुको सहभागिता रहेको उक्त तालिमको सहजीकरण शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक जनार्दन न्यौपाने र शाखा अधिकृत प्रविन बाबु भट्टराईले गरेका थिए ।

उक्त कार्यशालामा स्थानीय गाउँपालिकाका जनप्रतिनिधि तथा कर्मचारी समेतको विशेष उपस्थिति रहेको थियो । यस्तो कार्यशाला सोलुखुम्बु जिल्लामा पहिलो पटक खुम्बु पासाङल्हामु गाउँपालिकाले गर्न सफल रहेको पालिकाको भनाइ रहेको छ ।

यसैबीच खुम्बु पासाङल्हामु गाउँपालिका शिक्षा शाखाले वैशाख २५ गते पालिकाभित्रका विद्यालयमा शैक्षिक सत्र २०७८/०७९ कक्षा ५ र ८ को नतिजाको बारेमा अन्तरक्रिया तथा समीक्षा कार्यक्रम गरेको छ ।

उक्त कार्यक्रममा खुम्बु पासाङल्हामु गाउँपालिकाभित्रका विद्यालयहरुको शैक्षिक गुणस्तर अभिवृद्धिका लागि सरोकारवाला निकायहरूले खेल्नुपर्ने भूमिका लगायत हिमालयन ट्रष्ट नेपालले सोलुखुम्बुमा गुणस्तरीय शिक्षा कार्यक्रम अन्तर्गत खुम्बु क्षेत्रका १० ओटा विद्यालयलयलाई आधार मानेर गरिएको प्रथम चरण २०७७ र मध्यावधि चरण २०७९ को प्रस्तुतीकरण गरिएको थियो । साथै खुम्बु पासाङल्हामु गाउँपालिका शिक्षा ऎन २०७९ र शिक्षा नियमावली २०७९ सम्बन्धी अभिमुखीकरण कार्यक्रम समेत सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्