सोलुखुम्बु : जिल्लामा पहिलो पार्टी बनाउने गरि माओवादी केन्द्रले कार्यक्रम अघि बढाउने



सोलुखुम्बु।नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र थुलुङ दुधकोशी गाउँपालिका कमिटीले राष्ट्रिय कार्यक्रम अन्तर्गत आगामी मंसिर २० गते एकै पटक सबै वडामा सम्मेलन गर्ने भएको छ।

गाउँपालिका पार्टी कमिटीको हिजो सम्पन्न चौथो बैठकले सदस्यता नविकरण , नयाँ वितरण तथा लेवी संकलनलाई एक हप्ते अभियानको रुपमा हरेक वडावडा/टोल सम्म पुगेर सन्चालन गर्ने निर्णय गर्दै मंसिरमा सम्मेलन गर्ने निर्णय गरेको हो।बैठकले भेला तथा प्रशिक्षण कार्यक्रमलाई निरन्तरता दिने निर्णय समेत गरेको नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समितिका सचिब असिम राईले जानकारी दिए।

थुलुङ दुधकोशी गाउँपालिकाका निर्बाचित अध्यक्ष समेत रहेका सचिव राईले माओवादी केन्द्रलाई सोलुखुम्बु जिल्लामा हरेक हिसाबले पहिलो पार्टी बनाउने संकल्पका साथ कार्यक्रम अगाडी बढाईएको बताउंदै त्यही क्रममा आफ्नै पालिकाबाट भेला तथा प्रशिक्षणको काम सुरु गरिएको जानकारी दिए।

हिजो सम्पन्न बैठकले धर्मराज वनको संयोजकत्वमा ५ सदस्यीय निर्वाचन समिति गठन गरेको र सोहि समितिले ९ वटै वडाहरुमा ३ सदस्यीय वडा निर्वाचन समिति गठन गर्ने निर्णय गरेको माओवादी केन्द्र थुलुङ दुधकोशीले जनाएको छ।सो पार्टीले हालैमात्र गाउँपालिका कमिटी अध्यक्षको जिम्मेवारी रामसंघर्ष किराँती र इन्चार्जको जिम्मेवारी घनश्याम नेपालीलाई दिएको थियो।

प्रतिक्रिया दिनुहोस्