रहेनन् शिक्षाबिद् एबम् राजदू्त प्रा. हर्षनारायण धौभडेल



क्यालगरी,३१ साउन । नेपालका वरिष्ठ शिक्षाविद्,त्रिभुवन विश्वविद्यालयका पूर्वप्राध्यापक तथा भारत र भुटानका लागि पूर्वनेपाली राजदूत प्रा. हर्षनारायण धौभडेलको ९० वर्षको उमेरमा साउन ३० गते क्यानाडाको क्यालगरीमा निधन भएको छ । दीर्घकालदेखि पार्किन्सन्स रोगबाट पीडित धौभडेलको अस्पतालमा उपचार सम्भव नभएपछि घरमै राखिएर उपचार गर्ने क्रममा निधन भएको ज्वाइँ एवं पत्रकार ज्योति वैद्यले जानकारी दिनु भएको हो ।

वि.सं. १९९२ फागुनमा सिराहामा जन्मिएका धौभडेलले वि.सं. २०२१ देखि २०५७ सम्म करिब ३६ वर्ष त्रिभुवन विश्वविद्यालयमा निरन्तर सेवा गर्नुभएकाे थियाे । उहाँले प्राध्यापक, कान्ति छात्रावासको वार्डेन, महेन्द्ररत्न क्याम्पस ताहाचलको क्याम्पस प्रमुख, शिक्षाशास्त्र संकायको सहायक डिन तथा डिन र शिक्षा विकास तथा अनुसन्धान केन्द्र (सेरिड) को कार्यकारी निर्देशकको जिम्मेवारी सफलतापूर्वक सम्हाल्नुभएकाे थियाे ।

विसं. २०५० को दासढुङ्गा दुर्घटना छानबिन आयोगका सदस्यसमेत रहेका धौभडेल सन् १९९५ देखि १९९६ (वि.सं. २०५१) सम्म भारत र भुटानका लागि नेपाली राजदूत नियुक्त हुनुभएकाे थियाे ।

प्रतिक्रिया दिनुहोस्