मेगा बैंकमा लोकप्रिय खाता’ खोल्नेलाई एनसेलको सिम नि:शुल्क

काठमाडौं। मेगा बैंकमा ‘मेगा लोकप्रिय बचत खाता’ खोल्ने ग्राहकले एनसेलको सिम सित्तैमा प्राप्त गर्ने भएका छन्। खाता खोल्ने ग्राहकले आकर्षक विशेषताका साथ एनसेलको सिमकार्ड निःशुल्क प्राप्त गर्ने बैंकले जानकारी दिएको हो।

‘शून्य मौज्दात’मा नै खोल्न सकिने यो खाता खोल्दा ५ सय एमबी डाटा ५० मिनेट टकटाइम र ५० एसएमएसको सुविधा यो अफरमा रहने बैंकले जानकारी दिएको छ।
यससम्बन्धी सम्झौतामा बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेली र एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङ्बीच आइतबार हस्ताक्षर भएको हो।
यो निक्षेप योजना अन्तर्गत मेगा स्मार्ट मोबाइल बैंकिङ सुविधा उपभोग गर्नुहुने ग्राहकहरुलाई निःशुल्क उपलब्ध गराइने मेगा बैंकले जनाएको छ। साथै, यसरी पाइने सिम कार्डबाट बैंकको मेगा स्मार्ट मोबाइल बैंकिङ र मेगा अनलाइन बैंकिङको प्रयोग गर्न अनलिमिटेड इन्टरनेट सुविधा निःशुल्क उपलब्ध हुनेछ। यस ‘मेगा लोकप्रिय बचत खाता’ खोल्नासाथ ग्राहकहरुले प्राप्त गर्ने उक्त सिम कार्डमा मासिक एक सय रुपैंया मात्र रिचार्ज गर्नासाथ सम्पूर्ण प्याकेजसहितको सेवाको निरन्तरता हुनेछ।
यो सेवाको उपभोगसँगै आम ग्राहकवर्गहरुले कम लागतमा सञ्चार प्रविधिमा पँहुच, बचतमा प्रोत्साहन एवं डिजिटल प्रविधिमा आधारित बैंकिङ्ग सेवाको विस्तारमा समेत योगदान पुग्ने मेगा बैंकको विश्वास छ।

