देउवाको कोपभाजनमा परेपछि डा.रुद्रले भने,- ‘गलत नियत भएकाहरुले गलत परिणाम नै दिन्छन्’

काठमाडौं। वीर अस्पतालको प्रमुख प्रशासकीय अधिकृतमा नियुक्त भएर पनि डा. रूद्र मरासिनीले कार्यभार सम्हाल्न पाएनन् ।स्वास्थ्य राज्यमन्त्रीस्तरीय निर्णयबाट प्रशासकीय अधिकृत नियुक्त भएपनि रातारात उनको पद खोसियो।उनको ठाउँमा स्वास्थ्यमन्त्रीको जिम्मेवारी समेत सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवाले भुपेन्द्र बहादुर बस्नेतलाई नियुक्त गरे।


पद खोसुवामा परेपछि डा. मरासिनीले बुधबार सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै समय–समयमा घट्ने यस्ता घटनाक्रमहरुले केही न केही सकारात्मक पाठ सिकाउने र यसलाई अन्यथा लिन नहुने भन्दै उनले सबैलाई धन्यवाद दिएका छन्
उनले आफूलाई बधाई र शुभकामना दिने सबै शुभेच्छुकप्रति आभार व्यक्त गरेका छन् ।
‘गलत नियत भएकाहरुले गलत नै परिणाम दिन्छन्, धैर्य गर्नुपर्छ समयले देखाइदिन्छ,’ उनले लेखेका छन्, हामीहरुमा पेसागत इमान र संस्कारको अभाव भएको मैले महसुस गरेको छु । आगामी दिनहरुमा यसलाई सच्चाउन सके राम्रो हुने थियो ।’
बधाई र शुभकामना दिने सबै शुभेच्छुकप्रति सधैँ ऋणी रहने उल्लेख गर्दै उनले लेखेका छन्, ‘तपाईंहरुको शुभेच्छा र आशीर्वाद नै मेरो आत्मविश्वास र प्रेरणाको स्रोत हो। मैले सधैँ पेसागत इमान्दारीता र निष्ठापूर्वक काम गरेको छु र गर्नेछु पनि ।’

