खोटाङ : बर्षाले घर भत्किंदा एकको मृत्यु, ग्रामीण सडक पुरै अवरुद्ध



खोटाङ । खोटाङमा तीन दिनदेखि लगातार परिरहेको वर्षाले मुण्डाघर भत्किँदा एक बालकको मृत्यु भएको छ । बाँस र माटोले बनेको पुरानो मुण्डाघर आज दिउँसो भत्किँदा हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका रमेश सार्कीका छोरा १४ वर्षीय राजकुमारको घटनास्थलमै मृत्यु भएको हो ।

मान्छे बस्न छाडेको स्थानीय मनकुमार सार्कीको मुण्डाघरभित्र तीन बालक खेलिरहेको अवस्थामा उक्त मुण्डाघर भत्किएको स्थानीय बासिन्दाले बताएका छन् । मुण्डाघर भत्किँदा अन्य दुई बालकसमेत घाइते भएका छन् ।

घाइते हुनेमा स्थानीय राजकुमारी सार्कीको १० वर्षीय छोरा मिलन र मनकुमार सार्कीको १० वर्षकै छोरा लुने रहेका वडासदस्य खेमराज कार्कीले बताउनुभयो । उनीहरु दुवैजनाको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ ।

दिनरात लगातार परिरहेको वर्षाले ठाउँ–ठाउँमा पहिरो झरेपछि जिल्लाका सबै ग्रीिमण सडक अवरुद्ध बनेका यातायात व्यवसायीले बताएका छन् । सडक अवरुद्ध भएपछि सबैभन्दा बढी उपचारका लागि स्वास्थ्य संस्था जाने कोभिड–१९ तथा भाइरल ज्वरोका बिरामी समस्यामा परेका छन् ।

प्रतिक्रिया दिनुहोस्