लमजुङको दोर्दीमा बाढीले बगायो १५ घर,३० घर जोखिममा



लमजुङ । भीषण बर्षाका कारण आएको बाढीले लमजुङको दोर्दी गाउँपालिकाका १५ घर बगाएको छ । सोमबार साँझदेखि निरन्तर परेको बर्षाका कारण दोर्दीखोलामा आएको बाढीले दोर्दी गाउँपालिका ८ हिलेबजारका १५ घर बाढीले बगाएको प्रहरीले जनाएको छ । प्रहरी नायव उपरीक्षक गंगाबहादुर थापाका अनुसार मंगलबार विहानबाट पसेको बाढीले पक्की घर र जस्ताले बनाइएका घर गरी १५ घर बाढीले बगाएको हो । दोर्दीखोला बढेर आएको बाढीले हिलेबजारका ३० घर जोखिममा परेको बताउनुभएको छ । घर बगाएका स्थानीय र घर जोखिममा परेका स्थानीयलाई फलेनी माध्यमिक विद्यालयको भवनमा राखिएको बताउनुभयो । प्रहरीका अनुसार दोर्दी गाउँपालिका ६ किर्तिपुरका कृष्ण घलेको कुखुराको खोरसमेत बाढीले बगाएको छ । बोइलर र लेयर्स गरी करिव पाँच सय कुखुरासहित खोर बगाएको दोर्दी गाउँपालिका उपाध्यक्ष दिलबहादुर घलेले बताउनुभयो । उहाँका अनुसार हिलेबजारका एक सय बढी घर छन् । अधिकांश घर जोखिममा परेको उहाँले बताउनुभयो ।

गाउँपालिका अध्यक्ष ओमबहादुर गुरुङले भने हिलेबजारका १४ घर बाढीले बगाएको बताउनुभयो । अन्य घर जोखिममा रहेको र उनीहरुलाई सुरक्षित ठाउँमा राखिएको बताउनुभयो । स्थानीय एवं वडा सदस्य चन्द्रबहादुर गुरुङका अनुसार बजार तल रहेको खोला बढ्दै आएपछि बजारका क्षति पु-याएको हो । उहाँका अनुसार हिलेबजारमा करिव एक सय २० घर छन् । दिउँसोको समयमा बाढी आएकाले घरका केही सामान सार्न भ्याएको स्थानीयले बताएका छन् । बाढीका कारण बिजुलीका पोल, खेलमैदानमा समेत क्षति पु-याएको स्थानीयले बताएका छन् । मानवीय क्षति भने भएको छैन । प्रमुख जिल्ला अधिकारी होमप्रसाद लुइँटेलले हिलेबजारका वस्ती जोखिममा रहेको जानकारी आएको बताउनुभयो । नागरिकलाई सतर्क र सुरक्षित रहन अनुरोध गरिएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्