सोलुखुम्बुमा १०९ शय्याको आइसोलेसन तयार‚ फाप्लु अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द

सोलुखुम्बु । जिल्ला अस्पताल फाप्लुको आकस्मिकबाहेकका सेवा बन्द गरिएको छ। अस्पतालमा कार्यरत दुृईजना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पुष्टि भएपछि सेवा बन्द गरिएको अस्पतालले जनाएको छ।

अस्पतालले बिहीबार सूचना जारी गर्दै अनिश्चितकालका लागि आकस्मिकबाहेकका सेवा बन्द गरेको जनाएको छ। सोमबार र बुधबार गरिएको एण्टिजेन परीक्षणमा १÷१ जना स्टाफ नर्समा कोरोना संक्रमण पुष्टि भएको जिल्ला अस्पताल फाप्लुकी निमित्त कार्यालय प्रमुख सानी शेर्पाले जानकारी दिइन्।
यस्तै, खुम्बु पासाङ ल्हामु गाउँपालिकाले अत्यावश्यकबाहेकका सेवा बन्द गरेको छ। कर्मचारीमा कोरोनासँग मिल्दोजुल्दो लक्ष्यण देखिएकाले सेवा बन्द गरिएको गाउँपालिकाका प्रवक्ता लाक्पा छिरी शेर्पाले जानकारी दिए।
यस्तै, कोरोनासँग मिल्दोजुल्दो लक्ष्यण देखिएमा खुन्दे अस्पताल र पासाङ ल्हामु निकोलनिकी अस्पतालमा सम्पर्क राख्ने समेत गाउँपालिकाले अनुरोध गरेको छ। गाउँपालिकाभित्रका सबै हाटबजार अनिश्चितकालका लागि बन्द गरिएको छ। गाउँपालिकाभित्र कुनै पनि कार्यक्रम गर्न रोक लगाइएको प्रवक्ता शेर्पाले बताए।
आइसोलेसन वार्ड तयार
सोलुखुम्बुमा हाल १०९ शय्याको आइसोलेसन वार्ड तयारी अवस्थामा रहेको जनाइएको छ। सोलुदुधकुण्ड नगरपालिकाले फाप्लु अस्पतालसँग समन्वय गरी २० शय्याको आइसोलेसन तयारी अवस्थामा राखेएको नगरपालिकाका स्वास्थ्य संयोजक चमर मगरले जानकारी दिए।
यस्तै, थुलुङ दुधकोशी गाउँपालिकामा पाँच, खुम्बु पासाङ ल्हामु गाउँपालिकामा अक्सिजन र नेबुलाइजरसहितको ३७, नेचा सल्यान गाउँपालिकामा १२, लिखुपिके गाउँपालिकामा १५ र सोताङ गाउँपालिकामा १५ शय्याको आइसोलेसन वार्ड तयारी अवस्थामा रहेको बताइएको छ। थाहाखबरबाट साभार

