५५० पत्रकार कोरोना संक्रमित, उपचाररत २० मध्ये दुईजना आईसीयूमा

काठमाडौं, २० वैशाख । नेपाल पत्रकार महासंघले हालसम्म नेपालमा ५५० पत्रकार कोरोना भाइरसबाट संक्रमित भएको जनाएको छ।

महासंघमा अभिलेखभएअनुसार हालसम्म ५ सय ५० पत्रकार कोरोना भाइरसबाट संक्रमित भएका छन् भने ७ जना पत्रकारको निधन भएको छ। संक्रमितमध्ये २० जनाको अस्पतालमा उपचार भइरहेको छ भने २ जना पत्रकारको आईसीयूमा उपचार भइरहेको छ।
सोमबार विज्ञप्ति प्रकाशित गरी महासंघले उच्च जोखिमका बीच अग्रभागमा रहेर नागरिकलाई सुसूचित र सचेत गराउने गहन जिम्मेवारी वहन गरिरहेको सञ्चार क्षेत्र यतिखेर दोस्रो लहरको कोरोना भाइसरबाट प्रभावित हुन पुगेको खबरले अत्यन्त दुःखी र चिन्तित भएको जनाएको छ।
‘अग्रभागमा रहेर काम गर्ने पत्रकारहरुको यतिखेर स्वास्थ्य सुरक्षाको विषय चुनौतीपूर्ण बनेको छ। यो संवेदनशील घडीमा अनेक कठिनाईका बाबजूद कार्यस्थलमा खटिने पत्रकारहरु अझ बढी गम्भीर र सचेत हुनु जरुरी छ’ महासंघका महासचिव रोशन पुरीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘महासंघ यस्तो विषम परिस्थितिमा आफ्नो पेशागत धर्म निर्वाहका क्रममा संवेदनशील भई पूर्वसतर्कताका सम्पूर्ण स्वास्थ्य सुरक्षाका उपाय र मापदण्डहरु अवलम्बन गर्न सबै पत्रकारमा अपिल गर्दछ।’
महासंघका अनुसार महासंघले गरेको आग्रहअनुसार यतिखेर महासंघका सबै प्रदेश र शाखाहरुले कोभिड १९ कोरोना संक्रमित पत्रकार तथा सञ्चारकर्मीको उद्दार तथा उपचारमा सक्रिय सहभागिता देखाइरहेका छन्। कतिपय शाखामा अक्सिजनसहितको आइसोलेसनको व्यवस्था गरिएको छ। यो विषम् परिस्थितिमा महासंघले पत्रकारको स्वास्थ्य सुरक्षा तथा पेशागत सुरक्षामा आपतकालीन टोली नै बनाएर काम गर्न निर्देशन गरेको छ। सोहीअनुसार सहभागिता जनाउन सबै प्रदेश समिति र शाखाहरुसहित पत्रकारहरुलाई महासंघ अनुरोध गरेको छ।
साथै, महासंघ कोरोना संक्रमणको चुनौतीपूर्ण अवस्थामा फिल्डमा खटिइरहेका पत्रकारहरुका लागि सुलभ तरिकाले पिसिआर परीक्षणलगायत स्वास्थ्य सामग्री, स्वास्थ्य सुरक्षाको व्यवस्था मिलाउनुका साथै आवश्यक सुरक्षा सामग्रीको व्यवस्था गर्न सकारसँग आग्रह गरिएको छ।
र, कोरोना संक्रमण भई उपचारको आवश्यकता भएका पत्रकारहरुका लागि निःशुल्क उपचारको प्रवन्ध मिलाउनसमेत महासंघले सरकारको ध्यानाकर्षण गराएको छ।

