सगरमाथामा पनि पुग्यो कोरोना भाइरस, नर्वेका आरोही र नेपाली शेर्पा संक्रमित



विश्वको सर्वोच्च शिखर सगरमाथा पनि कोरोना संक्रमण पुगेको छ। एकजना नर्वेजियन आरोहीलाई कोरोना संक्रमण पुष्टि भएको हो। नर्वेबाट सगरमाथा आरोहण गर्न आएका आरोही एर्लेन्ड नेसलाई कोरोना संक्रमण पुष्टि भएको हो।

नर्वेका आरोही नेसलाई कोरोना भाइरस संक्रमण पुष्टि भएपछि आठ दिनसम्म अस्पतालको आइसोलेसनमा राखेर उपचार गरिएको छ। आरोही नेसले एएफपीलाई बताए अनुसार उनको आरोहण टोलीका सदस्यमध्ये एकजना शेर्पा आरोहीलाई पनि कोरोना संक्रमण भएको छ।

नेसलाई कोरोना भाइरस कहाँबाट सर्‍यो भन्‍ने पुष्टि हुन सकेको छैन। उनको स्वास्थ्य बिग्रिएपछि सगरमाथा आधार शिविरबाट हेलिकोप्टरमा काठमाडौं ल्याइएको थियो। उनलाई खुम्बु उपत्यका नजिकैको चिया पसलबाट कोरोना सरेको हुन सक्ने आशंका गरिएको छ। आइसोलेसनमा गत अप्रिल २२ मा स्वास्थ्य जाँच गरेपछि नेसको कोरोना रिर्पोट नेगेटिभ आइसकेको छ।

गत वर्ष कोरोना महामारीका कारण बन्द भएको सगरमाथा आरोहण दुई साता पहिले खुलेपछि आरोहीको संख्या बढिरहेको छ। नेपालको पर्वतारोहण पर्यटन गत वर्षको कोरोना संकटले ध्वस्त भएका बेला जाग्न खोजिरहेको थियो। तर दोस्रो लहरको सुरुमै आरोहीलाई कोरोना भएपछि पर्यटन व्यवसायीमा चिन्ता बढेको छ।

तर नेपाल पर्यटन विभागकी प्रवक्ता मीरा आचार्यले भने सगरमाथा आरोहीलाई कोभिड भएको जानकारी आफूलाई नआइसकेको बताएकी छन्। ‘एकजना आरोहीलाई १५ अप्रिलमा हेलिकोप्टरबाट उद्धार गरिएको जानकारी आएको थियो। तर हामीलाई उनी निमोनियाबाट ग्रसित भएको खबर आएको थियो। त्यही मात्रै खबर हामीकहाँ आएको थियो। यसबारे हामी थप बुझ्दैछौँ’, उनले भनेकी छन्।

फरकधारबाट साभार
प्रतिक्रिया दिनुहोस्