कोरोना नियन्त्रणका लागि कांग्रेसले दियो सरकारलाई ८ बुंदे सुझाव



काठमाडौँ । नेपाली काँग्रेसले कोरोनाको दोस्रो लहर नियन्त्रण गर्न सरकारको विशेष ध्यानाकर्षण गरेको छ ।

काँग्रेसको कोभिड–१९ अनुगमन समितिका संयोजक डा. प्रकाशशरण महतले एक विज्ञप्ति जारी गर्दै कोरोना संक्रमण रोक्न ८ वटा कम गर्न सुझाव दिएको छ ।

काँग्रेसले देशले फेरि लकडाउनको अवस्था धान्न सक्दैन भन्दै यस परिस्थितिमा हरेक व्यक्तिले मास्क अनिवार्य लगाउने र भौतिक दुरीमा जोड दिने व्यवस्थालाई कार्यान्वयन गर्न सरकारसँग माग गरेको छ ।

त्यस्तै काँग्रेसले सुझावमा अन्तर्राष्ट्रिय उडानबाट आउनेहरु र सिमा नाकाबाट आउनेहरुलाई व्यवस्थित चेक जाँच र क्वारेन्टाइनको व्यवस्था सुनिश्चित गर्न माग गर्दै कन्ट्रयाक्ट ट्रेसिङलाई प्रभावकारी बनाई सम्भावित संक्रमितहरुलाई लक्षित गरी पिसिआरको परिक्षण दायरालाई व्यापक गराउन माग गरेको छ ।

यस्तोमा छ कांग्रेसको सुझाव

(१) गम्भीर विरामीहरुको बढ्दो संख्यालाई मध्यनजर गर्दै आवश्यक स्वास्थ्य सामाग्रीको तत्काल आपूर्ति सुनिश्चित गरियोस् ।

(२) अन्तर्राष्ट्रिय उडानबाट आउनेहरु र सिमा नाकाबाट आउनेहरुलाई व्यवस्थित चेक जाँच र क्वारेन्टाइनको व्यवस्था सुनिश्चित गरियोस् ।

(३) कन्ट्रयाक्ट ट्रेसिङलाई प्रभावकारी बनाई सम्भावित संक्रमितहरुलाई लक्षित गरी पिसिआरको परिक्षण दायरालाई व्यापक गरियोस् ।

(४) कोभिड—१९ को विरुद्ध आम जनतालाई खोप पुर्‍याउने कामलाई स्पष्ट कार्ययोजना सहित अगाडि बढाइयोस् । खोप आपूर्ति सुनिश्चित गर्न उच्च कुटनैतिक पहल गरियोस् ।

(५) स्वास्थ्यकर्मीहरुलाई जोखिम भत्ता दिने घोषणा गरेर पनि सरकारले कार्यान्वयन गरेको छैन । यसले गर्दा स्वास्थ्यकर्मीहरुको मनोवल खस्किएको छ । स्वास्थ्यकर्मीहरुको विमा र जोखिम भत्तालाई तत्काल कार्यान्वयनमा ल्याइयोस् । साथै अस्पतालहरुमा स्वास्थ्यकमीहरुको संख्यामा देखिएको कमीलाई ध्यानमा राखी आवश्यक स्वास्थ्यकर्मीहरुको व्यवस्था तत्काल गरियोस् ।

(६) पूर्वाग्रही ढंगले लामो समयदेखि प्राविधिक स्वास्थ्य सचिव रिक्त राख्ने सरकारी रवैयाको भत्र्सना गर्दै तत्काल प्राविधिक स्वास्थ्य सचिवको व्यवस्था सुनिश्चित गर्न माग गर्दछौं ।

(७) देशले फेरि लकडाउनको अवस्था धान्न सक्दैन । यस परिस्थितिमा हरेक व्यक्तिले मास्क अनिवार्य लगाउने र भौतिक दुरीमा जोड दिने व्यवस्थालाई कार्यान्वयन गर्न सरकारसँग माग गर्दछ । साथै, कार्यालय तथा अन्य कार्यस्थलमा स्वास्थ्य मापदण्ड सुनिश्चित गर्ने र अनुगमनलाई मजवुत गर्न समेत माग गर्दछौं ।

(८) समग्रमा कोभिड—१९ को रोकथाम र उपचारका सम्बन्धमा कुरा मात्र गर्ने काम नगर्ने प्रवृत्ति छोड्न सरकारको गम्भीर ध्यानाकर्षण गर्दछौं ।

अन्तमा, कोभिडको कारण २०७८ संकटपूर्ण हुन नदिन स्वदेश तथा विदेशमा रहनु हुने सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरुलाई अनिवार्य मास्क लगाउने, सेनेटाइजर र सावुन पानीको प्रयोग गरी हात सफाईमा ध्यान राख्ने र भौतिक दुरी कायम गर्दै संक्रमणको जोखिमलाई कम गर्न अनुरोध गर्दै नयाँ वर्ष २०७८ को पावन अवसरमा हार्दिक मंगलमय शुभकामना दिन चाहन्छौं ।

प्रतिक्रिया दिनुहोस्