कांग्रेस महाधिवेशन : आज विभिन्न प्रतिबेदन पारित गरिंदैं, बिहान १० बजे उम्मेदवारहरुको अन्तिम नामावली सार्बजनिक हुने



काठमाडौं,२१ असोज। नेपाली कांग्रेसको १५औँ महाधिवेशनको चौथो दिन आज बन्द सत्रमा महाधिवेशन प्रतिनिधिहरूले पार्टीका विभिन्न प्रस्ताव तथा प्रतिवेदन पारित गर्दैछन्।

आजको बन्द सत्र बिहान १०: ३० बजे पुनः छलफल सञ्चालन गर्ने तय भएको कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिएका छन्। आजको बन्द सत्रको सुरुवातमा सभापति गगनकुमार थापाले सम्बोधन गर्ने कार्यक्रम रहेको कांग्रेसले जनाएको छ।

बन्द सत्रमा सभापति गगनकुमार थापाले प्रस्तुत गरेको ‘राष्ट्रिय पुनर्जागरण र समुन्नति’ सम्बन्धी राजनीतिक प्रस्ताव, उपसभापति विश्वप्रकाश शर्माको ‘राजनीतिक संस्कृतिको क्षय र युगानुकूल रूपान्तरणको अभिभारा’ सम्बन्धी समसामयिक प्रस्ताव, महासचिव गुरुराज घिमिरेको संगठनसम्बन्धी प्रतिवेदन र कोषाध्यक्ष उमेश श्रेष्ठको आर्थिक प्रतिवेदनमाथि छलफल गरेर पारित गर्ने कार्यसूची रहेको छ।

यसअघि मंगलबार काँग्रेसको नयाँ नेतृत्व चयन गर्नका लागि उम्मेदारको मनोनयन दर्ता भएको छ। त्यस्तै केन्द्रीय निर्वाचन समितिले मतदाता नामावलीको अन्तिम सूची समेत सार्बजनिक गरेको छ। जस अनुसार कांग्रेसको १५औँ महाधिवेशनका लागि ७ हजार २५५ जना अन्तिम मतदाता कायम भएका छन्।

निर्वाचन समितिका अनुसार आज बिहान १० बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशित हुने छ।सभापतिसहित पदाधिकारी र केन्द्रीय सदस्यमा गरी ८१८ जनाको उम्मेदवारी परेको छ । त्यसमध्ये पदाधिकारीतर्फ ७९ र केन्द्रीय सदस्यतर्फ ७३९ जनाले उम्मेदवारी दिएका छन् ।

सभापतिमा ३, वरिष्ठ उपसभापतिमा १, उपसभापतिमा १५, महामन्त्रीमा ११ र सहमहामन्त्रीमा ४९ जनाको उम्मेदवारी परेको छ । केन्द्रीय सदस्यतर्फ खुला ९२, महिला खुला ३१, आदिवासी जनजाति ७६, दलित ५४, मधेशी ४२, खसआर्य ६८, थारू १७, मुस्लिम २३ र पिछडिएको क्षेत्रबाट ८ जनाले उम्मेदवारी दिएका छन् ।

त्यस्तै, अल्पसंख्यक तथा अपांगता समूहमा १९, प्रदेशगत समूहमा १९४, नेपाली जनसम्पर्क समितिबाट ३६, श्रमिकबाट ९, पेशागत तथा विषयगत क्षेत्रबाट ४४ र काठमाडौं उपत्यकाबाट ६ जनाको उम्मेदवारी परेको छ । प्रजातन्त्र सेनानी, सहिद परिवार र द्वन्द्व प्रभावित परिवारका तर्फबाट १८ जनाले उम्मेदवारी दिएका छन् । महाधिवेशनमा ३५ वर्षमुनिका युवाका लागि छुट्याइएका केन्द्रीय सदस्य पदमा मात्रै ९१ जनाको उम्मेदवारी परेको छ ।

प्रतिक्रिया दिनुहोस्