स्वास्थ्य बीमामा पुस १ देखि राष्ट्रिय परिचयपत्र अनिवार्य
काठमाडौं,२१ असोज । स्वास्थ्य बीमा कार्यक्रमलाई थप व्यवस्थित, प्रविधिमैत्री र प्रभावकारी बनाउने उद्देश्यले स्वास्थ्य बीमा बोर्डले विभिन्न महत्वपूर्ण निर्णय गरेको छ।

बोर्डको दोस्रो बैठकले बीमितको पहिचानदेखि दाबी व्यवस्थापन र सेवा खरिद प्रणालीसम्म डिजिटल सुधार गर्ने निर्णय गरेको हो।बोर्डको २०८३ साल असोज १२ गते बसेको दोस्रो बैठकले आगामी पुस १ गतेदेखि १६ वर्ष उमेर पूरा गरेका नागरिकका लागि स्वास्थ्य बीमा कार्यक्रममा नयाँ आबद्धता, नवीकरण तथा स्वास्थ्य बीमा सेवा प्राप्त गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णय गरेको छ।
त्यसैगरी, सामान्य तथा लक्षित वर्गका सम्पूर्ण बीमित परिवारलाई HIB e-Portal मार्फत आफ्नो विवरण अनिवार्य रूपमा अद्यावधिक गर्न सार्वजनिक सूचना जारी गर्ने निर्णय पनि भएको छ।
राष्ट्रिय परिचयपत्रलाई स्वास्थ्य बीमा प्रणालीसँग जोड्दा बीमितको पहिचान सुनिश्चित हुने, दोहोरो आबद्धता नियन्त्रण हुने,‘केवाईसी’ (KYC) अद्यावधिक प्रभावकारी बन्ने तथा दाबी व्यवस्थापन थप विश्वसनीय हुने बोर्डको अपेक्षा छ।




